
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएको घोषणा गरेका हुन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको लिने कार्यसूची छ। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि राजीनामा दिने घोषण गरका हुन् । रावलले पत्रकारहरुसंग कुरा गर्दै भनेका छन्–अनैतिक राजनितिक गतिविधि देखिएको छ । यसले कसैलाई पनि हित गर्दैन । त्यसैले देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु ।’
उनले राजिनामामा भनेका छन्– केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी(निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रून्छ।
यस्ता विकृत तथा देश र जनताको हित विपरीतका क्रियाकलापविरूद्ध जुझ्दै तिनलाई रोक्न जनप्रतिनिधि एवम् राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरेँ। तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र घरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अह, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु।
प्रतिक्रिया दिनुहोस