aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोटेश्वरमा नेपाल, दाहाल र यादवबीच भेटवार्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
कोटेश्वरमा नेपाल, दाहाल र यादवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । 

यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।   

नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए। नेता नेपाल निवासमा बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ ।

यद्यपि भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चार माध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गरेको र विस्तृत विवरण दिउँसो जानकारी गराउने बताए।

उनका अनुसार जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गरेका हुन् । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो । त्यसलगत्तै अध्यक्ष यादवले पनि छुट्टै नेता नेपालसँग छलफल गरेका थिए। रासस 

प्रतिक्रिया दिनुहोस