aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अर्थमन्त्रीको निर्देशनमा रोकियो मौद्रिक नीति, बजेटको पुनर्लेखनमा जुट्यो अर्थ मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
अर्थमन्त्रीको निर्देशनमा रोकियो मौद्रिक नीति, बजेटको पुनर्लेखनमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौं । भोलि शुक्रवार जारी गर्ने तयारीमा रहेको मौद्रिक नीति हाललाई स्थगित भएको छ । अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको हो । 

यसअघि राष्ट्र बैंकको उच्च अधिकारीहरूले यही हप्ताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै आएका थिए । आफ्नो तयारी सबै पुरा भइसकेको भए पनि अर्थमन्त्रालयले आग्रह गरेपछि मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रोकिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीले भने, ‘अध्यादेश बजेटलाई आधार बनाएर हामीले मौद्रिक नीति तयार गरेका थियौँ । त्यसलाई सार्वजनिक गर्ने अन्तिम तयारी समेत सकिएको थियो । तर, अर्थमन्त्रालयले बजेटमै केही संशोधन गर्न लागेकोले हाललाई मौद्रिक नीति जारी गर्ने कार्यक्रम रोक्न भनेपछि स्थगित गरेका हौँ ।’ 

अर्थ मन्त्रालयमा बजेटको पुनर्लेखन कार्य अत्यन्तै तीव्रताका साथ भइरहेको चर्चाका बिच यस्तो समाचार बाहिर आएको हो । बजेटमा ठुलै हेरफेर हुँदै गरेको तर्फ संकेत गर्दै गभर्नरले भने, ‘अर्थ मन्त्रालयमा बजेट बहस सकिएकै छैन । त्यसैले मौद्रिक नीति जारी गर्ने कार्यक्रम रोकियो ।’ 

त्यसो त यस अघि नै अर्थमन्त्री शर्माले श्वेतपत्र जारी गर्ने घोषणा गरिसकेका छन् । जसको आलोचना समेत सुरु भइसकेको छ ।   

ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै श्वेतपत्र जारी गर्दा देशको आर्थिक क्रियाकलापमा नै मन्दी छाएको थियो । उनले श्वेतपत्र मार्फत राष्ट्रको ढुकुटी रित्तो रहेको घोषणा गर्दा सम्भावित वैदेशिक लगानी समेत निरुत्साहित भएको घटनालाई शर्माको आसन्न श्वेतपत्रको आलोचकहरूले दृष्टान्तकोरुपमा पेस गर्ने गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस