
बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–४ की गौमती दमिनीले हरेक दुई/दुई वर्षमा घरको छानो फेर्दै हैरानी खेप्दै आएकी थिइन्। न्यून आयस्रोत भएको परिवारकी गौमतीलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्नु पर्दा निकै सकस हुन्थ्यो । यसपालि भने उनको घरको छानामा जस्ता लगाइएको छ ।
गाउँपालिकाको खरको छानो हटाउने नीतिअनुसार गौमतीको घर जस्तापाताले छाइएको छ । युवा शक्ति पलायन हुने तथा गाउँमा बालबालिका र बुढापाका मात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै गौमती जस्ता १०३ घरलाई खरको छाना मुक्त गराएको छ ।
खरको छानामुनि बस्दै आएकी गौमतीको घर जस्तापाताले छाएपछि खुसी छिन् । “खरको छानामुनि बस्दै आएको थिएँ, जस्तापाताले छाउने घरको क्षमता थिएन, गाउँपालिकाले जस्तापाताले घर छाइदियो”, उमेरले ७५ वर्ष काट्नुभएकी गौमतीले भनिन्, “दुई वर्षमा घरको छानो फेर्दै आउँदा निकै सकस थियो, गाउँमा खरसमेत पाइन छाडेको थियो, वर्षौँलाई ढुक्क भइयो, अब त बाचुन्जेल घरको छानो फेर्न नपर्ला ।”
गाउँपालिका आएपछि घरको छाना परिवर्तन गरी जस्ता छाइदिएकामा वडा नं ५ का स्थानीय कुलवीर सुनार हर्षित भएका छन् । पुरानो घरमा खरले छाएर बस्दै आउनुभएका सुनार अहिले जस्तापाताले छाएपछि घर नयाँ जस्तै बनेको बताए । खरको घर जोखिम र झन्झटिलो भएको भन्दै उहाँले गाउँपालिकाले जस्तापाता हालिदिएपछि आफूलाई अब सहज भएको बताए । जस्ताले छाएपछि घरमा आगलागी हुने पानी चुहिने समस्यासमेत समाधान भएको सुनारको भनाई छ ।
निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १०३ गरिब परिवारको घरमा जस्तापाताले छाइदिएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए । उनले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको र आगामी वर्ष पनि कार्यक्रम निरन्तर सञ्चालन हुने बताए।
गाउँपालिकाले सात वटा वडामा ७३ र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३० गरी १०३ जनाको घर जस्तापाताले छाइएको बताए । गाउँपालिकाले घरको छाना विस्थापित गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन गरिएको शाक्यको भनाइ छ ।
प्रदेश सरकारले ३१ परिवारका लागि रु ५० हजारका दरले बजेट पठाएको शाक्यले जानकारी दिए । शाक्यले हरेक वडा कार्यालयबाट सिफारिस भएर आएका अति गरिब परिवारको घर जस्तापाताले छाइदिएको बताएका छन् ।
पालिकाभित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरी जस्तापाता हाल्न माग भएअनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए। खरको छानो भएको घरमा आगलागीको जोखिममा हुने र गाउँघरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उनको भनाइ छ । उनले केही वर्षमा गाउँपालिका खरको छाना मुक्त हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस