aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

महामारीका बेला मोबाइल विक्रीकर्ता मालामाल

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १२ साउन २०७८
महामारीका बेला मोबाइल विक्रीकर्ता मालामाल

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि आर्थिक वर्ष २०७७÷७८ मा मोबाइल विक्रेता व्यवसायी मालामाल भएका छन् । भन्सार विभागका अनुसार गत आवको कोरोना कहरबीच छोटो समयमा पसल खुलाइएको बेलामा पनि उनीहरूले राम्रो आम्दानी गरेका छन् ।

गत आव २०७७र७८ को असार मसान्तसम्ममा करिब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल सेट आयात भएको थियो । गत आवको एक वर्षको अवधिमा कुल ७० लाख ३० हजार ३ सय ६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । विभिन्न मुलुकबाट औपचारिक माध्यमबाट नेपाल भित्रिएका सो संख्याको मोबाइल सेट आयातबाट गत आवमा सरकारले मोबाइल आयातबाट मात्र झन्डै ६ अर्ब रुपैयाँको भन्सार संकलन गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकको आधारमा अघिल्लो आव २०७६र७७ को तुलनामा गत आव २०७७र७८ मा दोब्बर मूल्यबराबरको मोबाइल सेट आयात भएको देखिन्छ । यो अवधिमा नेपाल भित्रिएका मोबाइल सेटको संख्या पनि अघिल्लो आवको भन्दा गत आवमा साढे २६ लाख थानभन्दा बढी भित्रिएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आव २०७६र७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँबराबरको कुल ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल सेट आयात भएको थियो । गत आवमा सो संख्याको ठ्याक्कै डबल बढी मोबाइल सेट नेपाल भित्रिएको छ ।

गत आवमा कोरोना महामारीका कारण स्कुले विद्यार्थीदेखि बैंक, अफिसका कर्मचारीलगायत हरेक क्षेत्र सूचना प्रविधिकै भर मा पर्नुपर्ने बाध्यात्मक अवस्थाले गत आर्थिक वर्षमा विगतका वर्षहरूको भन्दा धेरै मोबाइल सेट, ल्यापटप र ट्याब्लेट आयात भएको विभागले जनाएको छ ।

स्कुल, कलेजका विद्यार्थीको अनलाइन पढाइ र अफिसमा काम गर्ने कर्मचारीको ‘वर्क फम होम’ र अन्य गतिविधि पनि अनलाइन तथा जुमबाट नै भइरहेकाले अहिले मोबाइल सेटलगायत विभिन्न नयाँ डिभाइसको माग अत्यधिक बढेका कारण कोरोना महामारीको असहज अवस्थामा पनि यति धेरै संख्यामा मोबाइल सेट आयात भएको विभागले जनाएको छ । उच्च मागका कारण अघिल्लो आवको तुलनामा गत आवमा मोबाइल सेट आयात र भन्सार महसुल पनि बढेको विभागको भनाइ छ ।

कोरोना महामारी सुरु भएदेखि विस्तारै सुरु भएको शैक्षिक गतिविधि अहिले पनि भर्चुअल माध्यमबाट भइरहेकाले मोबाइल सेटको माग उच्च रहेको सम्बन्धित मोबाइल विक्रेताको भनाइ छ ।

नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले कोरोना महामारीका कारण अहिले स्कुले विद्यार्थीदेखि हरेक क्षेत्र सूचना प्रविधिकै भरमा पर्नुपर्ने बाध्यात्मक अवस्थाले गत आर्थिक वर्षमा विगतका वर्षहरूभन्दा धेरै मोबाइल सेट, ल्यापटप र ट्याब्लेट आयात भएको बताए । उनले हाल बजारमा नयाँनयाँ भर्सन भएका मोबाइल सेटको माग बढिरहेको बताए । विभागको तथ्यांकअनुसार अघिल्लो आव २०७६र७७ मा सरकारले मोबाइल आयातबापत २ अर्ब ८७ करोड ९१ लाख ४२ हजार रुपैयाँ मात्रै भन्सार महसुल संकलन गरेकोमा अहिले त्यसको डबल भन्सार महसुल उठेको छ ।

विभागका अनुसार गत असार महिनामा मात्र २ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यबराबरका ४ लाख ७६ हजार ४३ थान मोबाइल सेट आयात भएको छ । कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै बजारमा मोबाइल सेटको माग बढेर आयात र बिक्री ह्वात्तै बढेको हो । गत असारको एक महिनाको अवधिमा मात्र सरकारले ४३ करोड ६२ लाख २७ हजार रुपैयाँ मोबाइल सेट आयातबाट भन्सार संकलन गरेको भन्सार विभागले जनाएको छ ।

नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले अहिले सरकारले अवैधानिक रूपबाट आउने मोबाइल सेटको आयातमा समेत केही कडाइ गरेका कारण भन्सार महसुल पनि विगतका वर्षहरूको तुलनामा निकै बढेको जानकारी गराए ।
चीनबाट सबैभन्दा बढी

एकवर्षको अवधिमा विभिन्न मुलुकबाट आयात भएका मोबाइल फोनमध्ये गत आव २०७६र७७ मा सबैभन्दा धेरै मोबाइल सेट चीनबाट भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा २२ अर्ब ८३ करोड रुपैयाँबराबरको ५७ लाख ७५ हजार थान मोबाइल सेट चीनबाट भित्रिएको छ । यसैगरी, भारतबाट १२ अर्ब ५० करोड रुपैयाँबराबरको साढे ९ लाख थान मोबाइल सेट भित्रिएको छ । त्यसैगरी, भियतनामबाट १ अर्ब २६ करोड रुपैयाँबराबरको करिब ३ लाख थान मोबाइल सेट भित्रिएको तथ्यांक विभागसँग छ ।यसैगरी, नेपालमा अमेरिका, युरोपदेखि खाडी मुलुकबाट पनि मोबाइल सेट भित्रिने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस