aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बीमाशुल्क संकलन करीब १७ प्रतिशतले बढ्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, १३ साउन २०७८
बीमाशुल्क संकलन करीब १७ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७७र७८ मा निर्जीवन बीमा कम्पनीहरूले रू.३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर निर्जीवन बीमा कम्पनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेका हुन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालन छन् । गत आवमा उनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

गत आवमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन करीब १७ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६र७७ मा निर्जीवन बीमा कम्पनीहरूले २७ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

कोरोना महामारीका बीच पनि व्यवसाय १७ प्रतिशतले बढ्नुलाई निर्जीवन बीमा कम्पनीहरूले सकारात्मक रूपमा लिएका छन् । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले गत आवमा व्यावसायिक वृद्धिदर राम्रो भएको बताए ।

बैंकहरूको कर्जा प्रवाह बढ्दा निर्जीवन बीमा व्यवसाय बढेको पन्तको भनाइ छ । बैंकबाट कर्जा लिएर गरिने कुनै पनि व्यवसाय तथा बनाइने घरको अनिवार्य रूपमा बीमा गर्नुपर्ने हुन्छ । त्यसैले बैंकको कर्जा बढ्दा स्वतः निर्जीवन बीमा व्यवसाय पनि बढेको सीईओ पन्तले बताए ।

गत आवमा वाणिज्य बैंकहरूले रू। ८ खर्ब १५ अर्ब ४४ करोड नयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै, विकास बैंक तथा अन्य वित्तीय संस्थाहरूले पनि उच्च मात्रामा कर्जा प्रवाह गरेका छन् । यसरी कर्जा प्रवाह उच्च हुँदा बीमाको व्यवसाय पनि बढेको कम्पनीहरूको भनाइ छ ।

‘गत आवमा बैंकहरूको कर्जा प्रवाह उच्च देखियो । त्यसको असरले नै व्यवसाय बढेको हो,’ पन्तले भने, ‘साथै, चालू आवदेखि कृषिबीमामा दिइने अनुदान घटाउने भएपछि गत आवमा अधिकांश कृषकहरू बीमाको दायरामा आए । त्यसको असरले पनि व्यवसाय बढेको हो ।’

सरकारले गत आवसम्म कृषिबीमामा ७५ प्रतिशतसम्म अनुदान दिँदै आएको थियो तर, निवर्तमान सरकारले गत जेठ १५ गते चालू आवका लागि वार्षिक बजेट ल्याउँदा कृषि बीमामा दिइने अनुदानलाई ५० प्रतिशतमा सीमित राख्यो । त्यसपछि अधिकांश किसानले अनुदानको लाभ लिनका लागि पनि बीमा गरेको पन्तको भनाइ छ ।

व्यवसाय बढे पनि निर्जीवन बीमा बजारको दायरा विस्तार भने नभएको पन्त बताउँछन् । ‘गत आवमा प्राविधिक कारणले गर्दा व्यवसाय बढेको हो । बीमा बजार नै विस्तार भएको होइन,’ उनले भने, ‘कोरोना कहर जारी हुँदा बीमा बजारलाई विस्तार गर्न सकिएको छैन ।’

गत आवमा बीमाशुल्क संकलन गर्ने मामिलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले गत आवमा रू.३ अर्ब ९७ करोड बीमाशुल्क संकलन गरेको थियो । दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी देखिएको छ । कम्पनीेले गत आवमा रू। २ अर्ब ६५ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले रू। २ अर्ब ४१ करोड बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस