aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरियाली राजदूतलाई अर्थमन्त्रीको आग्रहः कोरिया जान रोकिएका कामदारलाई चाडै लगिदिनु पर्‍यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
कोरियाली राजदूतलाई अर्थमन्त्रीको आग्रहः कोरिया जान रोकिएका कामदारलाई चाडै लगिदिनु पर्‍यो

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् । 

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे । “इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवाहरू बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु ।” मन्त्री शर्माले भने । 

जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने बचन दिए । नेपालीहरूको मेहनती र इमानदारिताबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए । 

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । 

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधा सम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिबासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना गर्दै छ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।  मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए । 

भेटको क्रममा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइ बारे चासो राखे । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।  

विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए । यस विषयमा मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिए ।  

 

प्रतिक्रिया दिनुहोस