aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरपालिकाले ताकेता

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, १४ साउन २०७८
घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरपालिकाले ताकेता

काठमाडौं । महानगरभित्रका २० ठूला करदातालाई घरजग्गा तथा सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको कार्यालयमै गएर महानगरपालिकाले माइकिङ गर्न थालेको हो । असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरिए पनि करदाताहरू सम्पर्कमै नआएपछि माङकिङ शुरू गरिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार तोकिएको अवधिमा कर तिर्न नआए घर, पसल र व्यवसायमा शिल गर्ने तथा बाँकी राजस्व असुली गर्न कानूनी उपचार खोज्ने महानगरपालिकाको तयारी छ । ‘धेरै प्रयास गर्दा पनि करदाता सम्पर्कमै नआएकाले बाध्य भएर माइकिङ गर्दै सूचना टाँस्दै हिँडेका हौं,’ उनले भने । नाम सार्वजनिक गरिएका २० करदातामध्ये अहिलेसम्म वडा नं ११ मा रहेको एनआरटी क्लब र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज मात्र सम्पर्कमा आएका छन् । २० करदाताबाट मात्रै करीब ७० करोड रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी रहेको महानगरपालिकाले बताएको छ ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधवार वडा नं ११ मा रहेको एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा नं १२ मा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र वडा नं १३ मा रहेको काठमाडौं इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको थियो ।

महानगरलाई करको विवरणसमेत नबुझाउने अन्य करदातामा वडा नं १४ मा रहेका आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कूल, वडा नं १५ मा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ स्थित कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल रहेको महानगरपालिकाको कार्यालयले बताएको छ ।

यसैगरी वडा नं २२ मा रहेको आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ का काठमाडौं प्लाजा र नेपाल शेयर मार्केटका साथै वडा नं ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल छन् । यी करदातालाई कर तिर्न दिएको म्याद साउन १५ गते सकिने र सो अवधिमा कर दाखिला नगरे कानूनी उपचार खोज्ने तयारी महानगरको छ ।

प्रतिक्रिया दिनुहोस