
रुकुम । रुकुम पश्चिममा गत आर्थिक वर्ष ०७७र७८ मा संघीय सरकारबाट आएको झन्डै ७० करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ ।चालू र पुँजीगत शीर्षकको ७० करोड ११ लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो ।
जिल्लामा संघीय सरकारको बजेट खर्चको प्रगति ८५र९५ प्रतिशत छ । जिल्लामा कुल ४ अर्ब ९९ करोड ८ लाख बजेट प्राप्त भएको थियो । यसमध्ये चालूतर्फ ४ अर्ब १५ लाख र पुँजीगततर्फ ९८ करोड ९२ लाख रहेको थियो । चालूतर्फको २२ करोड ९२ लाख खर्च हुन सकेन ।
पुँजीगततर्फ भने कुल बजेटको करिब आधा बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यायलले जनाएको छ । कार्यालयका अनुसार पुँजीगततर्फको ४७ करोड १९ लाख खर्च हुन नसकी फिर्ता गएको छ, जुन कुल बजेटको ५२।३० प्रतिशत हो ।
चालूतर्फ भने ९४।२७ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक अशोक रानाले जानकारी दिए । यो बजेट जिल्लामा रहेका संघीय कार्यालयमा आएको र संघले स्थानीय तहलाई दिएको अनुदान रहेको उनले बताए । ‘स्थानीय तह तथा संघीय सरकार मातहतका कार्यालयले सबै बजेट खर्च हुन नसक्नुको कारणमा कोरोना भाइरसलाई देखाएका छन्’, उनले भने, ‘हाम्रो कार्यालयमा आएको पत्रमा बजेट खर्च हुन सक्नुको मुख्य कारणमा महामारीलाई देखाइएको छ ।’ जिल्लामा संघ मातहतका २२ कार्यालय र ६ वटा स्थानीय तह छन् ।
प्रतिक्रिया दिनुहोस