aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

जानी जानी गल्ती गर्दिन, मौद्रिक नीति रोकेको होइनः अर्थमन्त्री शर्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ साउन २०७८
जानी जानी गल्ती गर्दिन, मौद्रिक नीति रोकेको होइनः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जानी जानी गल्ती नगर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीहरूसँग बिहीबार मन्त्रालयमा भएको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । 

वर्तमान मुलुकसामु रहेका समस्याहरू कुनै एक दल वा संस्थाले मात्रै समाधान गर्न नसक्ने बताउँदै उनले त्यसका लागि सबैको सहयोग आवश्यकता रहेको पनि बताए । आफूबाट भुलवश कुनै गल्ती भएमा त्यसलाई सच्याउने मौका दिन अनुरोध गर्दै उनले भने, ‘म जानी जानी कुनै गल्ती गर्दिन । यदि कनै कमजोरी भएछ भने त्यसलाई सच्याउन म सदैव तयार रहन्छु ।’ 

मन्त्रालयका सचिव तथा अन्य जानकारहरूको प्रत्यक्ष साथ र सहयोगका साथ आफू अगाडी बढ्ने पनि उनले बताए । आफूले काम गर्दा मन्त्रालयका जानकारहरूको सल्लाह र जनताको अपेक्षालाई मिलाएर निर्णय गर्ने उनले जनाए । 

अर्थमन्त्रालयबारे कम ज्ञान भएका व्यक्ति अर्थमन्त्री बनेका कारण उनीबाट मुलुकको अर्थतन्त्रलाई दीर्घकालीन असर पर्ने निर्णय हुनसक्ने चिन्ता बाहिर व्यक्त भइरहेका बेला शर्माले सो कुरा बताएका हुन् । मुलुकका सामु रहेका समस्याहरू समाधान गर्नै नसक्ने अवस्था नरहेको उनले बताए । 

साथै, अर्थमन्त्री शर्माले मौद्रिक नीति आफ्नो कारण नरोकिएको स्पष्टोक्ति दिए । चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति सार्वजनिक गर्न अर्थमन्त्रीकै कारण रोक लागेको चर्चा चलेको विषयमा उनले आफ्नो स्पष्टीकरण दिएका हुन् ।

राष्ट्र बैंक स्वायत्त संस्था भएको भन्दै आफूले सुझाव मात्रै दिएको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘राष्ट्र बैंक आफैमा स्वायत्त संस्था हो, मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै हो ।’  

मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसकैको कमजोरो नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर पनि गरे । ‘कसैको अबमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मुल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो’ शर्माले भने ।

केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए । ‘श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ’, मन्त्री शर्माले भने, ‘आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्‍यो, कसले कति गरेन पनि भन्दिनँ ।’ 

मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताएका छन् । नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए । 

सो कार्यक्रममा बोल्दै अर्थ सचिव शिशिर ढुंगानाले मन्त्रालयले अघि सारेका सही नीति र कार्यक्रमका कारण यस्तो विषम परिस्थितिमा पनि राष्ट्रिय ढुकुटी सकारात्मक रहेको बताए । मौद्रिक नीतिका सम्बन्धमा मन्त्रालयले नरोकेको बताउँदै उनले भने, ‘अहिलेको परिस्थिति विश्लेषण गरेर र सबैका अपेक्षाहरू समावेश गर्न सकियोस् भनेर हामीले थोरै समय माग गरेका मात्रै हौँ ।’ 

नयाँ अर्थमन्त्रीलाई आर्थिक पत्रकारहरूको तर्फबाट सुझाव दिँदै नाफिजका अध्यक्ष मोदनाथ ढकालले आम जनअपेक्षा पुरा गर्न तर्फ अर्थमन्त्री केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘यदि अर्थमन्त्री असफल बन्ने हो भने मुलुक नै असफलता तिर जान्छ । त्यसैले तपाइका अगाडी आफूलाई सही साबित गर्नु पर्ने चनौति र अफ्ठयाराका बिच सफल बन्न सक्ने सम्भावना पनि छ ।’ 

उनले आर्थिक पत्रकारहरूले सधैँ सकारात्मक उद्देश्यले समाचार सम्प्रेषित गर्ने, पत्रकारिताको माध्यमबाट रचनात्मक सुझाव सल्लाह दिने र मुलुकको आर्थिक विकासलाई नै केन्द्रमा नै राखेर कलम चलाउने हुँदा सहकार्यका लागि अर्थ मन्त्रालयलाई तयार रहन समेत आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस