aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

चिनियाँ चमत्कारको यसरी हुँदैछ चर्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ साउन २०७८
चिनियाँ चमत्कारको यसरी हुँदैछ चर्चा

दुई दिन अघि अमेरिकाले चीनमाथि आणविक क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको आरोप लगायो । जसबारे चीन अहिलेसम्म केही बोलेको छैन । 

यसै गरी, चीनले नबोलीकन नै धेरै काम गरिसकेको छ । दुनियाँलाई चकित पार्ने गरी उसले केही वर्षबिच गरेका चमत्कारहरूलाई विभिन्न समयमा विश्वका स्थापित सञ्चारमाध्यमहरुले समाचारकारुपमा सार्वजनिक गरेका छन् । 

तिनै विभिन्न सञ्चार माध्ययमहरुले महत्त्व दिँदै प्रकाशित गरेका चीनका चमत्कारहरूबारे यहाँ चर्चा गरिएको छ । 

मोडिलर मिनि रियाक्टरको निर्माण 

यही जुलाई १५ तारिकमा आर्ट डटकमले चीनले पहिलो मोडिलर मिनि रियाक्टर बनाउँदै गरेको समाचार प्रकाशित गर्‍यो । जसमा लिङलङ वान नामक पानीमा दबाब दिई विद्युत् उत्पादन गर्ने रियाक्टर चीनले निर्माण गरेको बताइएको छ । 

१२५ मेगावाट क्षमताको सो रियाक्टर विश्वमै यस प्रकारको पहिलो रियाक्टर हो । यो सानो मोडिलर रियाक्टरले सहजरुपमा पाँच लाख २६ हजार घरहरूलाई आवश्यक पर्ने ऊर्जा उत्पादन गर्न सक्ने समाचारमा जनाइएको छ । 

कृत्रिम सूर्य

चीनले पहिलो कृत्रिम सूर्य निर्माण गरेको समाचार केही महिनाअघि निकै चर्चामा रह्यो । चिनियाँ सरकारी सञ्चार माध्यमहरूले यसबारे प्राथमिकताका साथ समाचार प्रकाशित गरे । जसमा जनाइए अनुसार १२ करोड डिग्री सेन्टिग्रेड तापक्रममा उनीहरूले गरेको प्रयोग एक सय सेकेन्डसम्म जारी रहेको थियो । यसरी चीनले सूर्यको सतहमा रहेको स्तरमा नै ताप उत्पादन गरेर ऊर्जाको क्षेत्रमा नै नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । 

मंगलग्रहमा चिनियाँ रोबर 

चिनियाँ अन्तरिक्ष यानले लगभग दुई महिना अघि चन्द्रमाको सतहमा आफ्नो रोबर उतार्‍यो । यसले मंगलग्रह माथि विजय प्राप्त गर्ने दोस्रो मुलुकका रूपमा मात्रै चीनलाई चिनाएन । बरु अन्तरिक्षमा चलिरहेको दौडमा चिनियाँ गति निकै तीव्र र अब्बल रहेको समेत प्रमाणित गर्‍यो ।  

यसअघि नै चन्द्रमाको अँधेरो र कालो भागमा के होला भन्ने दशकौँ पुरानो कौतुहलतालाई मेट्न पनि चिनियाँहरू नै सफल बनेका थिए । किनभने चीन नै त्यो राष्ट्र हो जसले चन्द्रमाको कालो भागमा आफ्नो यान सफलतापूर्वक उतार्‍यो । 

अन्तरिक्ष प्रयोगशालामा चिनियाँ 

डेढ महिनाअघि सञ्चारमाध्यमहरूमा एउटा तस्बिर ब्यापकरुपमा छायो, त्यो थियो तीन जना चिनियाँ अन्तरिक्ष यात्रीहरू तीन महिनाका लागि अन्तरिक्ष स्टेसनमा गएको तस्बिर । यसरी अन्तरिक्षमा आफ्नो स्टेसन राख्ने र त्यसलाई सञ्चालन गर्ने चिनियाँ सफलता आफैमा रोचक छ । 

अमेरिकाले बनाएको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चिनियाँहरू पनि सहभागी हुन चाहन्थे । तर, अमेरिकाले इन्कार गर्‍यो । आखिर चिनियाँहरूले आफै त्यो निर्माण गरे । 

पाँचौँ रकेट प्रक्षेपण केन्द्र 

हालै रियोटर्सले एउटा समाचार छाप्यो । जसमा चीनले पाँचौँ रकेट प्रक्षेपण केन्द्र निर्माण गरेको उल्लेख गरेको छ । सन् २०२५ सम्ममा चीनले निर्माण गरिसक्ने यो प्रक्षेपण केन्द्रका लागि तीन अर्ब डलर चीनले खर्च गरिरहेको बताइएको छ ।

५६ क्युबिट कम्प्युटरको निर्माण

चिनियाँ अनुसन्धानकर्ताहरूको एउटा समूहले ५६ क्युबिट क्षमताको नयाँ क्वान्टम कम्प्युटर निर्माण गरेको फिजिक्स डट वोआरजीले उल्लेख गरेको छ । यो सफलताले चिनियाँ विज्ञान तथा प्रविधि जगतमा नयाँ कोषेढुंगा स्थापित गरेको त्यो सञ्चारमाध्यमले जनाएको छ । 

लाख टन क्षमताको आयल प्लेटफर्म

चीनले केही महिना अघि संसारकै सर्वाधिक ठुलो क्षमताको सेमिसबमेर्सिबल (पानीमा आधा मात्रै डुब्ने) तेल भण्डारण केन्द्र निर्माण गर्‍यो । डिपसि नम्बर वान नाम दिएको यो तेल भण्डारण केन्द्र संसारकै सर्वाधिक ठुलो मात्र होइन की यसका विशेषताका कारण महत्त्वपूर्ण पनि रहेको छ । 

उल्लेखित सबै उपलब्धिहरू चीनका पछिल्लो तीन महिनाभित्र देखिएका हुन् । यसरी एकै साथ विभिन्न क्षेत्रमा चमत्कारिक प्रगति गर्न चीनमा कसरी सम्भव भयो ? जवाफ सहज छ, उनीहरूसँग पैसा छ र काम गर्न स्मार्ट इन्जिनियरहरू छन् । यति धेरै पैसा चिनियाँसँग कहाँबाट आयो ? उनीहरूले समानहरू उत्पादन गरे र त्यो बेचेर पैसा कमाए । 

अनि अमेरिकाले किन सकेन ? किनकि अहिले अमेरिकासँग खुलेर खर्च गर्न सक्नेगरि पैसा छैन । उनीहरूले हवाई क्षेत्रमा लगानी गरेका छन् । तर, वस्तुहरु उत्पादन गर्न फ्याक्ट्री भने चीनमै खोलेका छन् । अमेरिकासँग त्यसरी काम गर्न सक्ने इन्जिनियरहरू अहिले छैनन । किनकि त्यहाँका विश्वविद्यालय र स्कुलहरूले अहिले सक्षम जनशक्ति उत्पादन गर्न छोडिसकेको छ । 

यो सबैले के प्रमाणित गर्छ भने पहिलेदेखि नै भनिँदै आएको २१ औँ शताब्दी अब एसियनहरूको शताब्दी बन्दै छ । २० औँ शताब्दिलाई जसरी अमेरिकाले आफ्नो सताब्दि बनायो २१ औँ शताब्दी वास्तवमै चीनको शताब्दी बनिरहेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस