
काठमाडौं । महिला उद्यमशीलताको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र कोरियन महिला उद्यमी संघबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र कोरियन महिला उद्यमी संघको इन्चोन शाखाका सभापतिले हस्ताक्षर गरेका छन् ।
महिला उद्यमीहरूद्वारा सञ्चालित व्यापार व्यवसायमा सहयोग एवं सहकार्य गर्ने, आपसी सम्पर्क विस्तारका माध्यमबाट सहकार्यका क्षेत्र पहिचान गरी सहयोग बढाउने, सूचना तथा व्यवसायिक भ्रमणको आदान प्रदान गर्ने, महिला उद्यमीहरूद्वारा संचालित उद्योग व्यवसायको क्षमता अभिवृद्धिका लागि सम्भाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलव्ध गराउने कुरा सहमतिपत्रमा उल्लेख गरिएको छ ।
नेपाल र कोरिया बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघको महिला उद्यमी समितिका सभापति श्रेष्ठको नेतृत्वमा कोरियाको भ्रमणमा गएको महासंघको प्रतिनिधिमण्डलले भ्रमणका दौरानमा कोरियाको साना तथा मझौला उद्यमीहरूको संस्थासँग आबद्ध उद्यमी व्यवसायी, गैरआवासीय नेपाली, नेपाली राजदूतावासका पदाधिकारीसमक्ष भेटवार्ता गरी दुई देशबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, सहकार्यका सम्भाव्य क्षेत्रका विषयमा गहन छलफल गरेको थियो ।
भेटवार्ता फलदायी हुनुको साथै भ्रमणका दौरानमा भएका भेटवार्ता तथा छलफल कार्यक्रममा कोरियाका उद्यमी व्यवसायीहरूले नेपालको आर्थिक विकासमा सहयोग, सहकार्य गर्न र महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा सघाउने इच्छा प्रकट गरेका थिए । प्रतिनिधिमण्डलले भ्रमणका दौरानमा कोरियन उद्योग प्रतिष्ठानको स्थलगत अवलोकनसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस