
काठमाडौं । मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको आरोप खोप्दै आएको प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै राज्यमन्त्रीको निर्णय होल्ड गराएर नयाँ तमासा सुरु गरेका छन् । वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीकारुपमा रहेका डा. जागेश्वर गौतमलाई सो जिम्मेवारीबाट हटाउँदै प्रसूति गृहमा पठाउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको निर्णये कार्यान्वयनमा देउवाले रोक लगाएका हुन् ।
आइतबार गौतमविरुद्ध कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का कर्मचारीहरूले कोरोना कालको जोखिम भत्ता लगायत अन्य नियमअनुसार प्राप्त गर्नुपर्ने भुक्तानी नपाएको भन्दै नारा जुलुस गरेका थिए ।
त्यस क्रममा प्रहरी र स्वास्थ्यकर्मीहरूबिच अस्पताल परिसरमा नै झडप समेत भएको थियो । त्यही समस्याको निदान खोज्ने क्रममा राज्यमन्त्री श्रेष्ठले गौतमलाई उनकै विशेषज्ञता (स्त्री रोग तथा प्रसूति) सुहाउँदो परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा फिर्ता पठाएका थिए ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गौतमको ठाउँमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेका थिए । त्यस्तै, सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयमा तान्ने र मन्त्रालयमा जगेडामा रहेकी रिता जोशीलाई लालको ठाउँमा पठाइएकोमा सो पनि प्रधानमन्त्रीको आदेशबाट रोकिएको छ ।
राज्यमन्त्री श्रेष्ठ नियुक्ति भएदेखि नै विभिन्न प्रकारका आलोचनाहरूबाट निशानामा छन् । उनलाई अनुचित आर्थिक साझेदारीको माध्यमबाट पद हडपेको आरोप लाग्दै आएको छ । तर, देउवाले यसरी एकाएक उनको निर्णयमाथि हस्तक्षेप गर्नुलाई भने केही अनौठो घटनाको रूपमा लिइएको छ ।
त्यसो त श्रेष्ठलाई राज्यमन्त्रीको मात्रै जिम्मेवारी दिएर स्वास्थ्य मन्त्रालयको राजनीतिक नेतृत्व आफ्नै हातमा राखेर देउवाको यो कदमलाई प्रधानमन्त्रीले मन्त्रीमाथि गरेको हस्तक्षेपका रूपमा भने हेर्न मिल्दैन ।
प्रतिक्रिया दिनुहोस