
विराटनगर । विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म रेलवे कार्गो सञ्चालनमा आउने भएको छ । आईसीपीसँग रेलवे कार्गो जोड्न सकिने प्राविधिक रुपमा उपयुक्त रहेको हालै भएको अध्ययनले देखाएपछि सञ्चालनमा आउने भएको हो ।
आईसीपीमा यसअघि नै रेलवे लाइन बनिसकेकाले पनि कार्गो सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनादेखि एक वर्षभित्र आईसीपीसम्म रेलवे कार्गो ल्याउन गृहकार्य सुरु गरेको छ । आईसीपीसम्म रेलवे कार्गो जडान गरी व्यापार सहजीकरण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । यसको लागि ट्रेड एन्ड लजिस्टिक पोलिसी निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।
व्यापार विज्ञ रविशंकर सैंजुसहितको अध्ययन टोलीले आईसीपीसँग रेलवे कार्गो सञ्चालन गर्न प्राविधिक रुपमा उपयुक्त रहेको देखाएको छ । नेपालतर्फबाट तिव्र रुपमा काम अगाडि बढेपछि ६ महिनाभित्रमा आईसीपीसम्म रेलवे कार्गो सञ्चालन गर्न सकिने व्यापार विज्ञ सैंजुले जानकारी दिए । विराटनगरको आईसीपीसँग रेलवेय कार्गो सञ्चालन हुँदा यसले आयात निर्यातलाई सहजीकरण गरी ढुवानी लागत र समयको बचत हुने उनको भनाइ छ ।
आईसीपीमा रेलवे कार्गो जोडियो भने कलकत्ताबाट विराटनगरसम्म सडकमार्फत हुँदै आउने सामान टे«नमा आउने हुँदा व्यापारलाई सहजीकरण गर्ने उनको भनाइ छ । रोहनपुर सिंहवाद हुँदै बंगलादेशामा सामान निर्यात गर्न सकिने हुँदा मुलुकको निर्यात समेत बढ्ने उनको भनाइ छ ।
कलकत्ताबाट विराटनगरसम्म ट्रेनमा आउने र विशाखापटनबाट–वीरगन्जसम्म टे«नमा सामान आयात गर्न सहज हुने अध्ययनले देखाएको छ । अहिले विराटनगर नाकामा सडकमार्ग हुँदै आयात निर्यात हुने गरेकोमा कार्गो जडान भएपछि टे«नमार्फत आयात निर्यात हुँदा ढुवानी खर्च कम हुनका साथै समयको बचत हुनेछ ।
वाणिज्य मन्त्रालयको संयोजनमा एसियाली विकास बैंकका कस्टम एन्ड लोजिस्टिक कन्सल्ट्यान्टद्वय सैंजु र श्याम दाहालले विराटनगरको आईसीपीसम्म रेलवे कार्गो कसरी ल्याउन सकिन्छ भन्ने सम्भाव्यता अध्ययन गरेका छन् । अध्ययनले प्राविधिक रुपमा सञ्चालन गर्न सकिने देखाएको छ । रेलवेय काग्रो सञ्चालनका लागि भारतीय पक्षले समेत सहमति जनाएको मन्त्रालयले जानकारी दिएको छ ।
विराटनगरको आईसीपीसम्म कोलकाता बन्दरगाहबाट मात्र नभई विशाखापट्टनमबाट पनि रेलवे कार्गो ल्याउन सकिने सैजुको भनाइ छ । उनका अनुसार नेपालका काँकडभिट्टा, विराटनगर, जनकपुर, भैरहवा, कृष्णनगर, वीरगञ्ज, दोधारा–चाँदनी र नेपालगञ्ज भन्सार गरी ८ वटा भन्सार विन्दुसम्म कार्गो ढुवानीका लागि रेलमार्ग बनाउन सकिने छ ।
हाल वीरगञ्जको सुक्खा बन्दरगाह अर्थात् एक भन्सार विन्दुसम्म मात्र कार्गो ढुवानीका लागि रेलमार्ग आइपुगेको छ । विराटनगरको आईसीपीसम्म रेलवे कार्गो ल्याउने हो भने ढुवानीको खर्च र समयमा एक तिहाईले बचत हुन्छ । यसले औद्योगिक लागत घट्छ र उत्पादन सस्तो हुन्छ । साथै व्यापारिक सामग्रीको पनि लागत कम हुने अध्ययनले देखाएको छ ।
विराटनगर नाकाबाट कुल वैदेैशिक व्यापारको १३ प्रतिशत आयात निर्यात हुने गर्छ । नाकाबाट ७१ प्रतिशत औद्यौगिक कच्चा पदार्थ, ८ प्रतिशत मेसिनरी सामान र २१ प्रतिशत उपभोग्य वस्तु आयात हुने गर्छ । भन्सार विभागका अनुसार यस नाकाबाट ३७ अर्बका निर्यात र १ खर्ब ९० अर्ब रुपैयाँको निर्यात हुने गर्छ । हाल वीरगन्ज र विराटनगरमा आईसीपी सञ्चालनमा रहेका छन् । नेपालगन्ज र भैरहवामा आईसीपी बन्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस