aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अन्य सिमेन्ट उद्योग नाफामा जादा हेटौंडा किन घाटामा

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, २१ साउन २०७८
अन्य सिमेन्ट उद्योग नाफामा जादा हेटौंडा किन घाटामा

हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले निरन्तर तीन वर्षदेखि घाटा बेहोर्दै आएको छ । पुराना मेसिनको कारण मर्मत खर्च र कर्मचारी खर्च बढी हुँदा समस्यामा परेको उद्योगलाई कोरोना महामारीका कारण उत्पादन तथा बिक्रीमा आएको गिरावटसँगै झनै घाटा थपिएको हो ।

२०७५(०७६ मा मेसिनमा आएको खराबीका कारण लामो समय बन्द हुँदा करिब एक करोड ५ लाख रुपैयाँ घाटा बेहोरेको उद्योगको घाटा बढेर आर्थिक वर्ष २०७६(०७७ मा २५ करोड रुपैयाँ पुगेको छ । कोरोनाको कारण २०७७ को चैत महिनादेखि भएको लकडाउनका कारण सिमेन्ट बिक्रीमा गिरावट आएको थियो । साथै कच्चा पदार्थ आयातमा सहज नहुँदा उत्पादनमा पनि ह्रास आएको थियो । “कोरोनाका कारण भएको लकडाउनका कारण उत्पादन र बिक्री ठप्पै भयो । त्यस अवधिमा पनि कर्मचारीको तलब दिनैप¥यो । बिग्रिएका मेसिन मर्मतमा पनि खर्च बढ्यो । जसले गर्दा उद्योगको घाटा झनै बढ्यो,” उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भने ।

उद्योगमा हाल दुईसय ८५ जना स्थायी कर्मचारी छन् भने करिब एक सय जनाको हाराहारीमा ज्यालादारीका मजदुर कार्यरत छन् । कोरोनाको असर कायमै रहँदा आर्थिक वर्ष २०७७(०७८ मा पनि उद्योगको घाटा करिब २५ करोड नै हुने अनुमान गरिएको छ । घाटाको एकिन तथ्यांक लेखापरीक्षणपछि मात्र थाहा हुने महाप्रबन्धक सिंहले बताए । कोरोनाका कारण सिमेन्ट बिक्रीको मुख्य सिजन चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा बिक्रीमा असर पर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नुपरेको उद्योग प्रशासनले जनाएको छ ।

पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले सिमेन्टले मूल्यमा अन्य सिमेन्टसँग प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको पनि महाप्रबन्धक सिंहको भनाइ छ । उद्योगले पछिल्लो वर्षमा करिब २ अर्बको आम्दानी र करिब २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चा पदार्थ व्यवस्थापन तथा मर्मतसम्भारमा भएको पाइएको छ ।

लामो समयदेखि घाटामै सञ्चालित उद्योगले आव २०७२(०७३ देखि ३ आर्थिक वर्षसम्म भने नाफा गर्न सफल भएको थियो । आव २०७२(०७३ मा ३० करोड रुपैयाँ नाफा गर्न सफल भएको उद्योगले आब २०७३(०७४ मा २२ करोड रुपैयाँ र २०७४(०७५ मा २३ करोड रुपैयाँ नाफा गरेको थियो । स्थापनाकालको अवस्थामा आव २०४८(०४९ मा आर्थिकरुपमा केही नाफा देखिएको भए पनि त्यसयता नै उद्योगे सबैजसो वर्ष घाटामा नै सञ्चालन हुँदै आएको अवस्था छ ।

बितेको आर्थिक वर्ष २०७७(०७८ मा उद्योगले कूल १८ लाख ५३ हजार बोरा सिमेन्ट बिक्री गर्दा एक अर्ब ४० करोड ३३ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको जनाइएको छ । बितेको वर्ष कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरणको मर्मतका कारण उत्पादनमा भएको ह्रासका कारण लक्ष्य भेट्टाउन नसकिएको उद्योगको बिक्री शाखाले जनाएको छ ।

 उद्योगले बितेको वर्ष एक लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिए पनि एक लाख मेट्रिक टन मात्र क्लिंकर उत्पादन गर्न सकेको महाप्रबन्धक सिंहले बताए ।
२०४२ साल मंसिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको हेटौंडा–९ स्थित लामसुरे धापमा रहेको उद्योग करिब १०१ बिगाह क्षेत्रफलमा फैलिएको छ । 

उद्योगको कच्चा पदार्थका लागि मकवानपुरको ओखरे, भैंसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी सञ्चालनमा छ । अन्य निजी उद्योगसँग प्रतिष्पर्धा गर्नको लागि उद्योगको सतरोन्नति गर्ने योजनासमेत बनाइएको थियो । उद्योगले स्तरोन्नतिको लागि करिब ३ अर्ब खर्च हुने अनुमानसहित विस्तृत प्रस्तावसमेत तयार गरेको थियो । तर, सरकारले स्तरोन्नतिको निर्णय गर्न नसक्दा सिमेन्ट उद्योग धरासायी बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस