aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विमला तामाङ प्रकरणः आत्महत्या होइन, हत्या हो, गृहमन्त्रीले नै छानविन गर्नुपर्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
विमला तामाङ प्रकरणः आत्महत्या होइन, हत्या हो, गृहमन्त्रीले नै छानविन गर्नुपर्छ

काठमाण्डौ । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ । 

घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा निर्मला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । 

मंगलबार पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्याय गर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो । तामाङको शव झुण्डिएको र बाहिरबाट ताला लगाइराखेको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो । 

रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्या भएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्महत्या नै उल्लेख गरिएको छ । 

अघिल्लो दिन सोमबार राति विमला हराएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । परिवारका सदस्यले भोलिपल्ट अस्पतालभित्रै ताल्चा लगाइएका दुई कोठामा विमला भएको आशंका गर्दै खोल्ने प्रयास गरे । तर अस्पतालका कर्मचारीले सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेललाई नसोधी खोल्न नमिल्ने बताएपछि ढोका खोलिएन । भोलिपल्ट सोही कोठामा विमला झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यही घटनाक्रमले यो काण्ड रहस्यमय देखिएको हो । त्यसैगरी मृतकका साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो । उक्त नोटमा दुई कर्मचारीको नाम लेखिएको थियो भने ‘म्याम’ भनेर सञ्जेलपत्नी कलालाई संकेत गरेको मृतक परिवारजनको दाबी छ । 

घटनाको प्रकृति हेर्दा आत्महत्या हुनै नसक्ने भन्दै परिवार र समितिले पत्रकार सम्मेलन गरेर अस्पताल प्रशासनले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको हो । 

पत्रकार सम्मेलनमा समितिले जारी गरेको प्रेस विज्ञप्तिमा गौशालाका डिएसपी प्रदिपकुमार सिंहले हेर्नुपर्ने केशलाई माथिल्लो निकायका डिएसपी होविन्द्र बोगटिलाई मृतकको परिवारको जाहेरी लिन एक हप्तासम्म आलटाल गरिएको आरोप लगाइएको छ । 

२ हप्तापछि मृतकका तामाङ्को भिएसआर जाँच्न पठाइएको तर उक्त  परीक्षण परिवारको उपस्थितीबिना गरिएको समितिको आरोप छ । 

भिएसआर पुनः परीक्षण गर्न माग गर्दा शवबाट अब रगत नै नआउने भएकाले परीक्षण गर्न नमिल्ने जवाफ चिकित्सकले दिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिंहदेव तामाङले बताए । 

राजनीतिक चलखेलका कारण घटनाको सत्यता लुकाएर परिवारलाई अन्याय गर्न खोजिएको अध्यक्ष तामाङको आरोप छ । “घटनाको छानविन गर्नुको साटो लास बुझ्न दबाब दिइयो । ताल्चा लगाएको कोठाभित्र लास भेटिएको घटना छानविन नगरी कसरी सहमति हुन सक्छ ?” तामाङले प्रश्न गरे । 

अध्यक्ष तामाङले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउँदै आफैँ छानविनमा सहभागि हुन आग्रहसमेत गरे । 

आफूहरुले सकभर न्यायपूर्ण तरिकाले प्रशासनले नै सत्य तथ्य उजागर गरोस् भन्ने चाहेको तर छलछाम गरेर अन्याय गर्न खोजिएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको अध्यक्ष तामाङले बताए । 

अभियुक्तलाई किटानी जाहेरी दिइएको जानकारी दिँदै तामाङले दोषीलाई जन्मकैद हुनुपर्ने माग गरे । साथै समता अस्पतालको कर्मचारी भएका नाताले विमला तामाङको परिवारलाई उचित क्षतिपूर्ति पनि दिनुपर्ने माग अघि सारिएको उनले बताए । 

समता अस्पतालको संचालक समितिमाथि पनि छानविन हुनुपर्ने माग गरिएको छ । 

समितिले जारी गरिएको विज्ञप्तिमा हत्याको आशंका गर्दै लेखिएको छ–“हाम्रो विचारमा अस्पतालभित्र दुई नम्बरी धन्दा भइरहेको थियो । मृतक विमला तामाङ त्यसबारे केही जानकार भएकाले त्यसलाई बाहिर उजागर गर्लिन भनेर विष खुवाई वा इन्जेक्सन दिई मारेको हुनपर्छ भन्ने हाम्र्रो बुझाई छ ।”

समितिले अपराधीलाई जन्मकैदको सुनिश्चितता र विमालको परिवारले पाउनुपर्ने क्षतिपूर्ति नपाएसम्म लास नबुझ्ने अडान लिएको छ । 

पत्रकार सम्मेलनमा विमलाका श्रीमान् बुद्धराज तामाङ उपस्थित भए पनि केही बोलेनन् । समितिले उनी शोकमा भएकाले केही बोल्न नसक्ने जानकारी गराएको थियो । 
 

प्रतिक्रिया दिनुहोस