aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भैंसेपाटी प्रहरीको हिरासतबाट ‘ह्याक्सो ब्लेड’ले झ्याल फाेरी ३ थुनुवा फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
भैंसेपाटी प्रहरीको हिरासतबाट ‘ह्याक्सो ब्लेड’ले  झ्याल फाेरी ३ थुनुवा फरार

महानगरीय प्रहरी प्रभाग ललितपुर भैंसेपाटीको हिरासतमा फलाम काट्ने ‘ह्याक्सो ब्लेड’ पठाइएको खुलेको छ। सोमबार राति हिरासतको ट्वाइलेटमा रहेको झ्यालको फलामे डन्डी काटेर तीन जना थुनुवा भागेका थिए।

अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर ललितपुरले हिरासतमा ह्याक्सो ब्लेड पुर्‍याइएको र त्यसैको माध्यमद्वारा तीन थुनुवा भागेको जनाएको हो। हिरासतमा कसरी ह्याक्सो ब्लेड पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनायो।

‘लापरबाहीका कारण हिरासतमा ह्याक्सो ब्लेड पुगेको छ, यस सम्बन्धमा प्रहरी कर्मचारीलाई नै कारबाही तथा अनुसन्धानको दायरामा ल्याइएको छ,’ परिसरका डिएसपी नारायण चिमरियाले भने।

डाँका तथा चोरी मुद्दामा थुना परेका शमसेर माझी, रुद्रलाल श्रेष्ठ र लागुऔषध मुद्दाका रविकुमार तिमल्सिना सोमबार राति भागेका थिए।

भागेकाहरू अहिलेसम्म फेला परेका छैनन्। लागुऔषध मुद्दा अदालत बुझाइसकेको मुद्दा थियो। अदालतले आवश्यक कारबाही प्रक्रियामा राखेको मुद्दाका प्रतिवादी नै हिरासतबाट भागेका थिए।

भैंसेपाटीको प्रहरी भवन आधुनिक र सुविधासम्पन्न छ। यहाँको थुनुवा कक्ष सुरक्षाका हिसाबले निकै बलियो मानिन्छ। ट्वाइलेटको झ्याल पनि अग्लो ठाउँमा रहने भएकाले कसरी उनीहरू त्यहाँको रड काटेर भागे भन्ने पनि रहस्यमै छ।

हिरासतसँगै जोडिएका घरहरू छन्। उनीहरूले झ्यालका रड काटेर भागुञ्जेल प्रहरीले सुइँको नपाएको दाबी छ।

भागेका सबै ललितपुर परिसरमा नअटाएका कारण प्रभाग लगिएका थुनुवा थिए। थुनुवा कोठा छिराउने बेला तलासी लिइने गरिन्छ। तर, उनीहरूले ह्याक्सो कहाँबाट पाए भन्ने अनुसन्धानकै विषय रहेको परिसरले बतायो। 

घटनापछि परिसरले प्रभागका असइ, हवल्दार र जवानलाई निलम्बन प्रक्रिया थालेको जनाएको छ।

‘तत्कालीन अवस्थामा ड्युटीमा बस्ने प्रहरी कर्मचारीलाई निलम्बनको प्रक्रिया थालिएको छ,’ चिमरियाले भने।

थुनुवा भागेको प्रकरणको अनुसन्धान गर्न परिसरबाट प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ।

हिरासत वा थुनुवा कोठा जे भने पनि प्रहरीले मुद्दाको अनुसन्धानका क्रममा आरोपी सुरक्षित राखेर अनुसन्धान गर्ने ठाउँ हो।

सुरक्षा दृष्टिले यो निकै संवेदनशील मानिन्छ। हिरासतमा ज्यान जोखिममा पर्ने वा हिरासतलाई क्षति गर्ने कुनै पनि किसिमका चिज तथा उपकरण राख्न पाइँदैन।

प्रहरीको विशेष निगरानीमा थुनुवा कक्ष रहन्छ। २४ सै घन्टा प्रहरीको ड्युटी हुने हुनाले थुनुवा कोठाको समग्र गतिविधि प्रहरीले थाहा पाइरहेको हुन्छ।

प्रतिक्रिया दिनुहोस