aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

निर्धारित समय अगावै मौद्रिक नीति छताछुल्ल, महाप्रसादले गरेकै हुन् त 'महाभूल' ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
निर्धारित समय अगावै मौद्रिक नीति छताछुल्ल, महाप्रसादले गरेकै हुन् त 'महाभूल' ?

काठमाडौं । चालू आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले आज अपराह्न ४ः१५ बजे सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति अनधिकृत ढङ्गले समय अगावै बाहिर आएको छ । विभिन्न सञ्चार माध्यमहरूमा मौद्रिक नीतिले तय गरेका प्रावधानहरूको तथ्यांकसहित  बिहानैदेखि समाचारहरू प्रकाशित भएका हुन् ।  

यसरी अत्यन्तै गोप्य राखिनुपर्ने दस्ताबेज बाहिर आएकोमा सबै पक्ष अचम्ममा परेका छन् । यसअघि सामान्य अनुमान र सङ्केतका भरमा मात्रै सञ्चार माध्यमहरूले समाचार लेख्ने गरेका थिए । 

यसलाई जानकारहरूले राष्ट्र बैंकको लापरबाहीको पराकाष्टका रूपमा टिप्पणी गरेका छन् । सर्वाधिक दुखद पक्ष त यो प्रकरणमा यो हो की अत्यन्तै परिपक्व र कुशल व्यक्तिले नेतृत्व गरेको भनिएका बेला यस्तो घटना घटेको छ । 

यसलाई धेरै जनाले गभर्नर महाप्रसाद अधिकारीबाट भएको महाभूल भन्न थालेका छन् । हुन पनि पछिल्लो बदलिँदो राजनीतिक परिवेशमा गभर्नरको पद समेत धरापमा परेको चर्चा चलिरहेका बेला राष्ट्र बैंकले मौद्रिक नीति जस्तो महत्त्वपूर्ण दस्ताबेज अपरिपक्व ढङ्गले बाहिर ल्याएको हो । 

त्यसो त गभर्नर अधिकारी पनि लामो समयसम्म अर्थमन्त्रालयले मौद्रिक नीति जारी गर्न रोकेकोमा नयाँ राजनीतिक नेतृत्वसँग त्यति खुसी थिएनन् । यस क्रममा मन्त्रीका विरुद्ध गोटी चाल्ने क्रममा कतै सञ्चारकर्मीसँगको गभर्नरको बाक्लो उठबसले यस्तो अक्षम्य गल्ती गर्न त उनलाई उक्साएको होइन भन्ने संका समेत बढेको छ । 

जे होस् सार्वजनिकरुपमा एउटा समय किटान गरेर त्यसअघि नै अमुक र अनधिकृत व्यक्तिहरूको हातमा मौद्रिक नीति पुर्‍याउनु राष्ट्र बैंकले गरेको ऐतिहासिक भुल हो । अब महाप्रसादले गरेको यो महाभुल कसरी सच्याउने हुन् त्यो भने समयले नै स्पष्ट पार्नेछ । 

यदि समय अगावै उडन्ते पारमा विभिन्न औपचारिक, अनौपचारिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका तथ्य तथ्याङ्क र सूचनाहरू गलत ठहरिए महाप्रसादमाथि लगाइएको यस्तो आरोप नै महाभुल साबित हुनेछ । धेरैले अपेक्षा गरेका छन् अनधिकृत ढङ्गले बाहिर आएका सूचनाहरू गलत साबित हुनेछन् ।  यदि त्यसो भएमा फेरि पनि राष्ट्र बैंकको गरिमा कायम नै रहने छ । त्यो समय भने अब त्यति टाढा छैन । जसले स्पष्ट पार्नेछ गल्ती महाप्रसादको हो या उनलाई ‘महाअभियोग’ लगाउन खोज्नेहरूको हो ।  

निर्धारित समय अगावै मौद्रिक नीति छताछुल्ल, महाप्रसादले गरेकै हुन् त 'महाभूल '?

 

 

प्रतिक्रिया दिनुहोस