aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

महामारी पीडित व्यवसायीलाई यस्तो छ मौद्रिक नीतिमा कर्जाको व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
महामारी पीडित व्यवसायीलाई यस्तो छ मौद्रिक नीतिमा कर्जाको व्यवस्था

काठमाडौँ। कोरोना महामारीका कारण समयमा नै ऋण तिर्न नसकेका व्यवसायीहरूका लागि मौद्रिक नीतिले सहजता प्रदान गरेको छ। आर्थिक वर्ष २०७८/७९ को लागि शुक्रवार जारी गरिएको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो। 

नयाँ ब्यवस्थ अनुसार अब निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई/इक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकहरूको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने छन् ।

त्यसै गरी कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा लगायतका बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय भ्रमण सहज भई यथेष्ट रूपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएको निष्कर्षमा राष्ट्र बैंक पुगेको छ।  अब त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने र यस्तो रकममा थप हर्जाना र पेनाल्टी ब्याज नलाग्ने व्यवस्था गरिएको हो  ।

मौद्रिक नीतिले कोभिड–१९ महामारीले समग्र अर्थतन्त्रमा पारेको प्रभाव समेतलाई मध्यनजर गरी बैक तथा वित्तीय संस्थाहरूले कर्जा प्रदान गरेका ऋणी फर्म, कम्पनी वा संस्था लगातार २ वर्षसम्म खुद नोक्सानीमा रहेमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरी लगातार ३ वर्षसम्म खुद नोक्सानीमा रहेमा मात्र सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्ने व्यवस्था पनि गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गरेका ऋणीहरूमध्ये कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरूलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न अधिकार यस नीतिले प्रदान गरेको छ ।

कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेस्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था भएको छ । यो व्यवस्था महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने जनाइएको छ ।

महामारीबाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था नयाँ नीतिमा छ । अब कोभिड–१९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन/मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन रु २ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले केहि राहत दिएको छ । ऋण लिएर व्यवसाय गर्ने ऋणी लगातर ३ वर्षसम्म घाटामा गएमा मात्र सुष्म निगरानी गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यसअघिसम्म लगातर २ वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले शुष्म निगरानीमा राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस