aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

हाइटीमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० साउन २०७८
हाइटीमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

पोर्ट–अउ–प्रिन्स । शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।  

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ । युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ । 

प्रारम्भिक विवरणमा भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ । भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका अपुष्ट सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन् । प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा भूकम्पले हाइटीको दक्षिणपश्चिमी प्रायद्वीपका स्कूलहरूका आवासीय भवनहरूमा क्षति पु¥्याएको देखिएको छ । 

यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए । एएफपी

प्रतिक्रिया दिनुहोस