
काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसको प्रभाव नेपालको पुँजी बजारमा कस्तो पर्ला भन्ने अहिले धेरैको चासोको विषय बनेको छ। शेयर बजारका ठुला कारोवारीहरुले मौद्रिक नीतिलाई खुलेर स्वागत गर्न नसकेको अवस्था छ भने साना लगानीकर्ताले भने खासै वास्ता गरेको देखिएको छैन।
शेयर बजारले सर्वाधिक चासो राखेको विषय मार्जिन कर्जाको थियो। जसलाई मौद्रिक नीतिले यथावतै राखेको छ। तर, केन्द्रीय बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जामा केही कडाइ गर्दै व्यक्तिगत कर्जाको सीमा तोकिदिएको छ। यस्तो होला भनेर कसैले सोचेका नै थिएनन्।
नेपालका उद्योगी व्यापारीको सबैभन्दा ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे औपचारिक प्रतिक्रिया दिँदै भनेको छ - 'पुँजी बजारमा निरन्तर वृद्धि भइरहेको सर्वसाधारणको समेत रुचि बढिरहेका बेला बैङ्क वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सीमा लाग्दा यसले बजार निरुत्साहित हुने देखिन्छ ।'
त्यसै गरी, नेपाल उद्योग परिसंघ (सिए नआई) ले पनि आफ्नो औपचारिक प्रतिक्रियामा मौद्रिक नीतिले शेयर बजारको मनोबल खस्काउने उल्लेख गरेको छ। परिसंघले सार्वजनिक गरेको प्रतिक्रियामा लेखिएको छ - 'बैङ्क तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने घोषणाले पुँजी बजार प्रभावित हुने परिसंघको बुझाइ छ। यसले ठुला लगानीकर्ताको मनोबल कमजोर हुने परिसंघको बुझाइ छ।'
यसले स्पष्ट पार्छ, नेपालको पुँजी बजारलाई मौद्रिक नीतिले निराश पारेको छ। तर, मौद्रिक नीतिमा लेखिएको नै के छ भने "बैङ्क तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ।"
राष्ट्र बैंकको शब्दलाई मात्र नै केलाउने हो भने पनि के देखिन्छ भने केन्द्रीय बैंकले 'बैङ्क तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम' देख्यो। त्यसैले सो जोखिम 'न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले' मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो।
यसले एकसाथ दुई वटा कुरा बोलेको छ। पहिलो एकै बैंकबाट एउटै व्यक्तिलाई ठुलो मात्रामा शेयर धितोमा मार्जिन प्रकृतिको कर्जा प्रवाह हुने हो भने त्यसले जोखिम बढाउँछ। अर्को, बैंकबाट ऋण लिएर ठुलो लगानी शेयर बजारमा भयो भने पनि जोखिम बढ्छ। यसैले अहिले जसरी शेयर धितो राख्दै पैसा निकाल्ने र त्यही पैसा फेरी शेयर बजारमा नै लगाएर बजारलाई अनियन्त्रित ढङ्गले बढाउने काम भइरहेको थियो त्यसलाई अङ्कुश लगाउने काम मौद्रिक नीतिले गरेको छ।
त्यसबाहेक केन्द्रीय बैंकले स्पष्ट भनेको छ कि उसको अभिप्राय साना लगानीकर्तालाई समेत मार्जिन प्रकृतिको ऋणमा पहुँच पुगोस्। भइरहेको के थियो भने केही सीमित ठुला लगानीकर्तालाई बैङ्कहरूले लगानी गर्दा उनीहरूले मार्जिन टाइपको लगानी गर्न पाउने सीमा नै सकिन्थ्यो र साना लगानीकर्ताले ऋण नै नपाउने अवस्था थियो। ठुला पहुँच हुनेले धेरै कर्जा लिने र म्यनुपुलेट गर्ने गरेका देखेर नै केन्द्रीय बैंकले यस्तो नीति लिएको हुनसक्ने अनुमान सहज रूपमा लगाउन सकिन्छ । अब त्यसको अन्त्य हुने भएको छ।
त्यसैले ठुला लगानीकर्ताहरूले केन्द्रीय बैंकले लगानीकर्ताले संवैधानिक हक कुण्ठित भएको प्रतिक्रिया दिएका छन्। उता साना र मझौला भन्न मिल्ने लगानीकर्ताले भने माजिर्न कर्जाको सीमा तोक्नु राम्रो पक्ष रहेको प्रतिक्रिया दिइरहेका छन्। यस्तो मिश्रित प्रतिक्रियाले अब नेपालको पुँजी बजार कसरी अघि बढ्ला भन्नेमा ठुलो अस्पष्टता थपेको छ।
मौद्रिक नीतिमा १२ करोड भन्दा बढी ऋण लिएर लगानी गरिरहेका वा एक बैंकबाट ४ लाख भन्दा बढी शेयर धितोमा ऋण लिएका ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने जनाएको छ। त्यसैले सो समय किटान नहुन्ज्यालसम्म नेपाली शेयर बजारका ठुला खेलाडीले बजारलाई तल झर्न दिने छैनन्।
त्यसमाथि बजारमा तरलता पर्याप्त रूपमा प्रवाह होस भन्ने उद्देश्यले मौद्रिक नीतिमा धेरै त्यस्ता मार्गहरू अवलम्बन गरिएको छ। बजारमा जुनसुकै माध्यमबाट आएको भए पनि त्यस्तो नगदमा सिधा पहुँच भएको वर्ग नै शेयर बजारका 'ठालुहरू' हुन्। त्यसैले केन्द्रीय बैंकको कडाइले तिनीहरूलाई हत्तपत्त छुँदैन। उनीहरूले अन्त कतै लगानी गर्ने ठाउँ नपाउन्जेल शेयरमा नै पैसा थन्काउने हुन्। जब कतै लगानी गर्न पैसा चाहिन्छ तब निकाल्न थाल्छन्। त्यस बेला भने बल्ल बजार खस्किन्छ।
त्यसै पनि केही सीमित लगानीकर्ताको इसारामा चलिरहेको नेपालको शेयर बजारलाई कुनै नीति/नियम वा सरकारी निर्देशनले प्रभावित पार्ने गरेको छैन। ५२ वटा कम्पनी जोखिमयुक्त छन् भन्दै नियामक निकायले सुची नै सार्वजनिक गर्दा नहल्लिएको बजार हो, नेपालको पुँजी बजार। लगत्तै राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाले आर्जन गरेको मुनाफा वितरणमा कडाइ गर्दा समेत बैंकिंग क्षेत्रको इन्डेक्स थोरैपनी टसमस नगर्ने अनौठो सूचकाङ्क हो, नेप्से।
नेपालको शेयर बजार १० /१२ करोडको लगानीमा कारोबार गर्नेहरूको हातमा छैन। त्यो स्तरको लगानीले बजारलाई प्रभावित पनि पार्न सक्दैन। यदि राष्ट्र बैंकले आफूहरूलाई सहज रूपमा मार्जिन कर्जा उपलब्ध हुने वातावरण बनाइदियो भनेर साना लगानीकर्ता हौसिने हो भने त्यसले समेत जोखिम निम्त्याउन सक्छ। किनकि बजार कब्जा गरेकाहरूको सानो चालबाजीले शेयर बजारमा ठुलो हलचल मच्चिन सक्छ।
त्यसैले तत्कालै केही प्रभाव त पर्ला तर जबसम्म ४/५ दर्जनको हाराहारीमा रहेका शेयर बजारका खेलाडी र उनीहरूसँग भित्री साइनो सम्बन्ध राख्दै आएका ब्रोकरहरूले मार्केट क्र्यासको सङ्केत देख्दैनन् तबसम्म शेयर बजारमा साँढे उफारी रहन्छन्। तर, पुँजी बजारका जानकारहरूले अब नेपाली शेयर बजारको फोको (स्टक मार्केट बबल) फुट्ने बेला आएको बताउन थालेका छन्। यस्तो बेला साना लगानीकर्ताले भने 'सर्वनाश हुनुभन्दा आधा नै बरु नाश होस्, आधाले काम टारिन्छ सर्वनाश कवै नहोस्’ भन्ने लोक श्लोक स्मरण गरेर आफ्नो लगानी सुरक्षित गर्नु नै उपयुक्त देखिन्छ।
प्रतिक्रिया दिनुहोस