aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अफगानिस्तानको लडाइँमा भारतको नियती: 'बेगानी शादी में अब्दुल्ला दीवाना'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ भदौ २०७८
अफगानिस्तानको लडाइँमा भारतको नियती: 'बेगानी शादी में अब्दुल्ला दीवाना'

अहिले विश्व राजनीतिमा चर्चाको केन्द्र बनेको छ, सार्कको सदस्य समेत रहेको मुलुक अफगानिस्तान। त्यहाँ तालिवानले पुन सत्ता सम्हाल्ने अवस्था बनेसँगै अर्को एक विषयमा समेत चर्चा गर्नु वाञ्छनीय बनेको छ।  त्यो हो, अमेरिकाको पिछलग्गु बन्दा हाम्रो छिमेकी मुलुक भारतले त्यहाँ भोगेको आर्थिक क्षति। यस विषयमा विमर्श किन पनि रोचक हुन्छ भने दक्षिण एसियामा ुबिग ब्रदरु बन्ने भारतीय रहर अमेरिकी सेनाले अफगानिस्तान छाडेसँगै तुहिएको छ। 

यो संक्षिप्त आलेखमा भारतले किन अफगानिस्तानमा आँखा चिम्लिएर पैसा खन्यायो। त्यसको मात्रा कति थियो र अहिले भारतको नियति कस्तो बन्यो भन्ने विषयमा केन्द्रित छ। 

ठुल्दाईु बन्ने महत्त्वाकाङ्क्षा 
अन्तर्राष्ट्रिय राजनीतिमा एउटा महत्त्वपूर्ण शब्दावली छ, 'स्पेयर अफ इन्फ्ल्युन्सु अर्थात् प्रभाव क्षेत्र । यो शब्द कुनै पनि देशको अन्य मुलुक वा क्षेत्र माथिको प्रभाव कस्तो छ भन्ने विषयमा चर्चा गर्न प्रयोग गरिन्छ। यस्तो प्रभाव विभिन्न तहको हुन्छ जस्तै-राजनीतिक, आर्थिक, सांस्कृतिक र सैनिक।'

अमेरिकाले ल्याटिन अमेरिकालाई आफ्नो प्रभाव क्षेत्र मान्ने गर्छ। हुन त संसार नै आफ्नो इशारामा चलोस् भन्ने अमेरिकी चाहना पुरानै हो। तथापि उत्तर, मध्य र  दक्षिण अमेरिकामा अन्य मुलुकहरू हाबी बन्न खोजेको कुनै हालतमा अमेरिका सहँदैन। त्यस्तै, अफ्रिकामा बेलायत र फ्रान्सका आफ्ना-आफ्नै प्रभाव क्षेत्रहरू छन् ुएङ्ग्लोस्पेरु र ुफ्रान्कोस्पेरु।

भारतको प्रभाव क्षेत्र दक्षिण एसिया हो। नेपाल, भुटान, श्रीलङ्का, मालदिभ्स र बङ्गलादेश ईन्डियाको प्रभाव क्षेत्रमा रहेका देशहरू हुन। यी देशहरूमा चीन, पाकिस्तान र अन्य कुनै शक्ति राष्ट्रहरू आएर चलखेल गरेको भारतले बिलकुल मनपराउदैन। त्यसै गरी पाकिस्तानले अफगानिस्तानलाई आफ्नो प्रभाव क्षेत्र मान्छ। जसको एउटा महत्त्वपूर्ण व्यवहारिक कारण पनि छ। 

बेलायतले १८९३ मा अफगानिस्तान र बेलायत अधीनस्थ हिन्दुस्तान बिच सीमा रेखा कोरेको थियो। जुन डूरण्ड रेखाका नामले प्रख्यात छ। तर, यो सिमानालाई अझै पनि अफगानहरूले स्वीकार गर्न सकिरहेका छैनन् । किनकि यो सीमा रेखाले पठान जातिहरूको वासस्थान ख़ैबर पख़्तूनख़्वा, बलुचिस्तान र गिल्गित-बल्तिस्तानलाई विभाजित गरेको छ। 

पठान अफगानिस्तानको सबैभन्दा ठुलो जातीय समूह हो। यिनीहरूको सङ्ख्या देशको कुल जनसङ्ख्याको ४८ प्रतिशत जति छ। त्यस्तै, पाकिस्तानमा पठानहरूको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा छ। पाकिस्तानी पठानहरू आफ्ना अनेक गुनासो लिएर त्यहाँको सरकार विरुद्ध सङ्घर्षरत छन् जसरी भारत अधीनस्थ कश्मीरका नागरिकहरू भारत विरुद्ध अनवरत सङ्घर्षमा छन्। त्यस कारण पाकिस्तानले अफगानिस्तानमा स्वतन्त्र र राष्ट्रवादी सरकार नबनोस् बरु त्यहाँ आफू अनुकूलको सरकार बनोस् भन्ने चाहना स्वाभाविक रूपले सधैँ राख्छ। 

हुनत भारतको अफगानिस्तानसँग सिमाना जोडिएको पनि छैन।   न त यो देशमा धेरै ठुलो सङ्ख्यामा भारतीय मूलका मानिसहरू छन्। जसको हित रक्षाको लागि इन्डियाले यति ठुलो चासो लिनु परोस्। तर, विभिन्न उद्देश्य सहित भारत पनि त्यहाँ बलियो उपस्थिति चाहन्छ। त्यसैले, अफगानिस्तानमा भारतको उपस्थिति सोचे भन्दा निक्कै नै ठुलो थियो। 

भारतले त्यहाँ अरू मुलुकले झैँ राजदूतावास राखेको छ। त्यसबाहेक कान्दहार, मजारे शरिफ, हेरात र जलालाबादमा गरी चार वटा कन्सुलेट कार्यालय खोलेको छ। त्यस्तै, तालिबानलाई अमेरिकाले सन् २००१ को अन्त्यमा सत्ताबाट हटाए यताको २० वर्षमा अफगानिस्तानमा भारतले ३ अर्ब अमेरिकी डलर जतिको लगानी गरेको थियो। जुन अहिले बेफ्वाँकको लगानीमा रूपान्तरित भएको छ। किनकि नयाँ तालेवानी सत्ताले भारतलाई राम्रो नजरले नहेर्ने पक्का छ। यसरी पाकिस्तानको प्रभाव क्षेत्रमा घुस्ने र आफू वास्तवमै दक्षिण एसियाको 'ठुल्दाई' देखिन भारतीय चाहना अधुरो नै रहने भएको छ। 

भारतले गरेको लगानी  
तालिबानलाई अमेरिकाले सत्ताबाट हटाए यताका २० वर्षमा भारतले अफगानिस्तानमा ३ अर्ब डलर जतिको लगानी गरिसकेको छ । भारतले अफगानिस्तानमा विभिन्न उद्देश्य सहित फरक फरक परियोजनाहरूमा लगानी गरेको हो। ती मध्येका केही प्रमुख परियोजनाहरूमा ४२ मेगावाटको सलमा बाँध निर्माण, २१८ किलोमिटर लामो जारान्ज(डेलाराम राजमार्ग निर्माण, संसद् भवनको निर्माण, काबुलमा रहेको इन्दिरा गान्धी बाल अस्पतालको पुनर्निर्माण आदी हुन्। 

उल्लेखित परियोजना मध्ये सबै भन्दा भू-राजनीतिक महत्त्वको परियोजना थियो, जारान्ज(डेलाराम राजमार्ग। यो राजमार्गले अफगानिस्तानलाई इरानको चाबहार बन्दरगाहसँग जोड्थ्यो। चाबहार बन्दरगाहलाई विकास गर्ने भारतको अति नै महत्त्वाकाङ्क्षी परियोजना थियो। जसमा इन्डियाले ५०० मिलियन डलर लगानी गर्‍यो । पाकिस्तानले भारतलाई अफगानिस्तानसम्म पुग्ने सडकको बाटो दिएको थिएन। त्यस कारण यो राजमार्ग भारतका लागि महत्त्वपूर्ण थियो। किनकि कोरोना महामारीको समयमा  चाबहार बन्दरगाहबाट यही जारान्ज(डेलाराम राजमार्ग प्रयोग गर्दै भारतले अफगानिस्तानमा ७५ हजार टन गहुँ पठाएको थियो।  

यो बिस वर्षमा अफगानिस्तानको भव्य संसद् भवनको निर्माणको लागी भारतले ६ अर्ब भारतीय रुपियाँ खर्च गर्‍यो। त्यसै गरी स्टोर राज दरबारको पुनर्निर्माणमा पनि ठुलो खर्च गर्‍यो। बागलान प्रान्तदेखि काबुलसम्मको २२० केभी बिधुत प्रसारण लाइन निर्माण भारतले लगानी गरेको अर्को ठुलो परियोजना हो। त्यहाँको यातायातको विकासका लागि ४०० थान बस, ३०० वटा मिनिबस र अन्य १०५ वटा सवारी साधन पनि भारतले दिएको छ। 

भारतले त्यहाँ गरेको अर्को ठुलो आर्थिक सहयोग भनेको अफगान वायुसेवाको लागि ३ बटा प्लेन दिने कार्य हो। त्यसबाहेक अहिले अमेरिकाले छाड्ने बित्तिकै लडाई नै नगरी हार मानेको अफगान सेनाको लागि पनि भारतले २८५ वटा गाडी, ४ वटा लडाकु हेलिकप्टर र ३ वटा हलुका चिता हेलिकप्टर उपहार दिएको थियो।  

त्यसो त आफूलाई राम्रो ठान्ने र भनेको समेत मान्ने शासन अफगानिस्तानमा टिकाउन भारतले अन्तिम दिनसम्म अफगान सेनाका लागी ठुलो मात्रामा गोला/बारुद  उपलब्ध गराई रह्यो।  तर, तालिबानलाई तह लगाउने साहस नभएको अफगान सेनाले भारतीय बारुद आफ्नै नागरिक मार्न पछिल्ला दिनमा प्रयोग गरेन।  

भोगेको नियति
भारतले आफ्नो देशसँग प्रत्यक्ष रूपमा सिमाना नजोडिएको र प्रभाव क्षेत्रमा पनि नपर्ने अफगानिस्तानमा अपार धन राशि खन्याएको थियो। यसको एउटै कारण थियो, काबुलमा पाकिस्तान विरोधी शासनलाई टिकाउनु। जुन पाकिस्तानका लागी निरन्तर टाउको दुखाइको कारण बनिरहोस्। अहिले २० वर्ष पछि फेरी तालिबानले अफगानिस्तानलाई पुरै कब्जा गरे पछि भारतको सम्पूर्ण लगानी बालुवामा खन्याएको पानी जस्तै खेर गएको छ। आफ्नो हैसियत र सामर्थ्य बिर्सेर अर्काको प्रभाव क्षेत्रमा हात हाल्न जाँदा भारत अफगानिस्तानमा नराम्रो हार भोग्न बाध्य भएको छ। 

भारतको अहिलेको स्थिति हेर्दा सन् १९६१ मा रिलिज भएको बलिउड सिनेमा ुजिस देश मै गङ्गा बहेती हैु को एउटा गीतको सम्झना आउँछ। कोही आफ्नो चासोको क्षेत्र भन्दा बाहिर गएर नचाहिँदो गतिविधि गर्न थाल्यो भने त्यसलाई जनाउने टुक्का 'बेगानी शादी में अब्दुल्ला दीवानाु सो गीतको बोल छ।  सोही गीतमा भित्री गीतको अन्तरामा गायिका लता मंगेस्कर गाउँछिन् ( ुतुम तो पराये हो, यु हीं लाल्चाये हो, जाने किसी दुनियाँ से, जाने क्युं आए हो।'  

आखिर अफगानिस्तानका लागी भारत पराया नै हो। आफन्त बन्ने उसको उद्देश्य पुरा हुन गाह्रो छ। अफगानीहरुले अब अवश्य पनि भारत त्यहाँ किन गएको थियो भन्ने बुझेका छन्। जे होस्, २० वर्षको अनवरत प्रयास र आफ्नो गच्छे भन्दा ठुलो लगानी गरेर पनि सर्वनाक हार व्यहोर्दै अमेरिका फिर्ता गएपछी तालिबानको सत्तारोहण सँगै अफगानिस्तानमा भारतको हालत उही बेगानी शादीमा दीवाना बन्ने अब्दुल्लाको झैँ बनेको छ।  

प्रतिक्रिया दिनुहोस