aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

इजरायल रोजगारीको कोटामा नौ गुणा बढी आवेदन

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, ०२ भदौ २०७८
इजरायल रोजगारीको कोटामा नौ गुणा बढी आवेदन

ज्ञकाठमाडौं । रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ । विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । “परेका सबै आवेदनलाई रुजु गरेर स्वीकृत भएकालाई लिखित परीक्षाका लागि योग्य मानिनेछ,” निर्देशक भट्टराईले भने, “मापदण्डअनुसार नपरेका आवेदन अस्वीकृत हुनेछन् ।” विभागले भदौ १५ देखि २२ गतेसम्म स्वीकृत भएका आवेदनका लागि परीक्षा तय हुने जनाएको छ । सबै आवेदनलाई म्यानुयल रूपमा हेर्नुपर्ने भएकाले लिखित परीक्षाको मिति भने तय गरिएको छैन ।

विभागको इजरायल फोकल व्यक्ति निर्देशक डम्बर सुनुवारले कोभिड संक्रमणको अवस्थामा परीक्षा कसरी गर्ने भन्नेबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसि० लाई पत्राचार गरेर सुझाव माग गरिएको बताए । इजरायलका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंकभन्दा बढी ल्याउने पास हुने भए पनि म्यारिटबेसमा छनोटमा परेकालाई अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।

आकर्षक श्रम गन्तव्य इजरायलमा नेपाली युवाले सरकारी तवरबाट सहायक कामदारका रूपमा केयर गिभरमा रोजगारी पाउने भएपछि धेरै युवाको आवेदन पर्ने अपेक्षा गरिए पनि कडा छनोट मापदण्डका कारण विद्यालय तह शैक्षिक योग्यता पूरा नभएका युवाले आवेदन दिन पाएनन् ।

श्रमिकमैत्री कानुन, बिमासहितको विभिन्न सुविधा र औषत मासिक दुई लाखको हाराहारीमा तलब रहेको इजरायलले एक हजार नेपालीलाई रोजगारी दिने गरी मागपत्र पठाएपछि विभागले तीव्र रूपमा काम अघि बढाएको छ । नेपाल र इजरायल सरकारबीच १४ असोजमा भएको श्रम सम्झौताअनुसार इजरायलले पहिलो चरणमा एक हजार नेपालीलाई केयर गिभरमा रोजगारी दिने भएको हो । सहायक कामदारको रूपमा इजरायलको अशक्त नागरिकको स्याहार केन्द्रमा काम गर्नका लागि नेपालीको माग गरिएको हो ।

विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले मासिक एक हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमयदर अनुसार एक लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने बताए । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बीमा, अभिमुखिकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषसहित एक लाख ६५ हजार ७०० शुल्क लाग्ने विभागले जनाएको छ । 

एक हजार मागमध्ये ३० प्रतिशत अर्थात् ३०० पुरुष र ७० प्रतिशत अर्थात् ७०० महिला श्रमिकले रोजगारको आवसर पाउने छन् । इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि जाने नेपालीको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । त्यस्तै उचाइ कम्तिमा १।५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने तय गरेको छ । आवेदकको शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तिमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

भाषा परीक्षापछि अन्तर्वार्तामा छनोट भएका एक हजार चार सय जनाको योग्यताक्रम सूचीको अन्तिम रोस्टर तयार पारी इजरायल सरकारको जनसंख्या तथा अध्यागमन निकाय ९पिवा० लाई पठाइने छ । पिवाले माग संख्याको करिब ७५५ ९एक हजार नबढ्ने गरी० कामदार चिठ्ठाद्वारा छनोट गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस