
एजेन्सी। तालिवानले अफगान सत्ता नियन्त्रणमा लिएपछि पहिलोपटक मंगलबार साँझ राजधानी काबुलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । सो सम्मेलनमा तालिवानी प्रवक्ताका अभिव्यक्ति सुन्दा तालिवान अब उदार बन्ने संकेत देखिएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुमा प्रकाशित समाचारका अनुसार तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्ध सकिएको र अब कसैसँग बदला नलिइने बताएका छन् । आफ्नो सरकारले महिलाको अधिकारलाई इस्लामको कानून अनुसार सम्मान गर्ने उनले बताएका थिए । तालिबानको शासनमा महिलाहरुको अवस्था नाजुक बन्ने र अधिकारहरु खोसिन सक्ने भन्दै अधिकारवादी समूहहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।
सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा तालिबानले शरिया कानून लागु गरेर इस्लामिक कानूनको कडा व्याख्या गर्दै गम्भीर दण्डको व्यवस्था गरेको थियो । त्यो बेला महिलाहरुले शरीर सबै ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष र सो माथिका छात्राहरु विद्यालय जान नपाउने नियम लागु गरेको थियो ।
मंगलबार भएको पत्रकार सम्मेलनमा मुजाहिदलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुले तालिबान शासनमा महिलाको अवस्था कस्तो रहने र अधिकारको रक्षा हुन्छ–हुँदैन भनेर सोधेका थिए। जवाफमा तालिवान प्रवक्ताले भने, ‘हामी महिलाहरुलाई हाम्रो फ्रेमवर्क भित्र रहेर काम गर्न तथा पढ्न दिने छौँ । महिलाहरु हाम्रो समाजमा निकै सक्रिय हुने छन् ।’
उनले स्वास्थ्यसहितका अत्यावश्यक क्षेत्रमा महिलाले काम गर्न सक्ने उनले बताए । उनले महिलासँग कुनै भेदभाव समेत नगर्ने समेत बताए । आइतबार काबुललाई नियन्त्रण गरेपछि तालिवानले महिला र बालबालिकालाई पहिलेजस्तै शोषण र अत्याचार गर्ने संशय पैदा भएको थियो । प्रवक्ता मुजाहिदले आफूहरुले सत्ता कब्जा गरेपछि सबैजनालाई आममाफी दिइएको बताए ।
यसअघि तालिबानले अफगानिस्तानभर आममाफीको घोषणा गरेर आफ्नो सरकारमा महिलाहरु सामेल हुन् भन्ने चाहेको बताएको थियो । तालिबानले अफगान र अन्तर्राष्ट्रिय समुदायको मन तथा विश्वास जित्नका लागि उच्च तहको प्रचार अभियान चलाइरहेको विश्लेषकहरुले बताएका छन् ।
राजनीतिक वार्ता जारी रहेको र आफूहरु सबै पक्षलाई समेटेर सरकार बनाउने तयारीमा जुटेको उनले बताए । साथै उनले अफगानिस्तानलाई छिमेकीसहितका अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिइने समेत बताए । ‘हामी विश्व समुदायलाई आश्वस्त तुल्याउन चाहन्छौं कि हाम्रो जमिन कसैको विरुद्ध प्रयोग हुन दिइने छैन’ उनले भने ।
काबुलस्थित विदेशी दूतावासहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र कुनै हानी नपुग्ने उनले बताए । ‘हामी विदेशी देशहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं कि सबै दूतावास, मिसन, अन्तर्राष्ट्रिय संगठन र सहायता एजेन्सीको सुरक्षालाई सुनिश्चित गर्छौ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस