aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

युएई पुगेका घानीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ भदौ २०७८
युएई पुगेका घानीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरे

दुबई । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन् । उनले गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेका छन् ।   

उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवार पनि रहेका छन् । हिंस्रकरूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गएको आइतबार देश छोडेका थिए । 

देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गरेका हुन् । उनले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका छन् । त्यसक्रममा उनले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गरेका छन् । 

उनलाई आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अफ्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरु र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए । गएको आइतबार यता काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । 

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ । सडकमा महिलाको संख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ । काबुल अन्तरराष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

तालिबानका लडाकू तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ । सिन्ह्वा  

प्रतिक्रिया दिनुहोस