
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको जनाएको छ । भारत र अफ्रिकाका अधिकारीहरूले जुलाई र अगस्टको बिचमा यस्ता नक्कली खोपहरू बजारबाट जफत गरेका थिए ।
डब्ल्यूएचओले जारी गरेको एक विज्ञप्तिमा यसबारे उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार भारतको खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डियाले पनि बजारमा फेला परेका कतिपय डोजहरू नक्कली रहेको पुष्टि गरेको छ ।
सो विज्ञप्ति मार्फत डब्ल्यूएचओले चेतावनी दिएको छ कि नक्कली खोप “विश्वव्यापी सार्वजनिक स्वास्थ्य को लागी गम्भीर खतरा“ हो ।
यस सम्बन्धमा हालसम्म भारत सरकारको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन । तर, स्थानीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूका अनुसार भारतको स्वास्थ्य मन्त्रालयले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
बिबिसीले आफ्नो समाचारमा भारतीय अधिकारीहरूको प्रतिक्रिया भन्दै लेखेको छ– यद्यपि हामीसँग यस्ता केसहरूलाई रोक्नको लागी एक बलियो प्रणाली छ । हामी मात्र यो सुनिश्चित गर्न चाहन्छौँ कि कुनै भारतीयलाई नक्कली खोप लगाइएको छैन ।
खोप उत्पादक कम्पनी सीरमले एसिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूलाई लाखौँ कोभिसिल्ड खोपहरू आपूर्ति गरेको थियो । विभिन्न सरकारहरू र गरिब देशहरूको लागी ग्लोबल कोभ्याक्स योजनासँग सम्झौता पनि गरिएको थियो।
भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको “भ्याक्सिन कूटनीति“ को भागको रूपमा आफ्ना केही छिमेकीहरूलाई कोभिसिल्ड डोज पठाएको छ । तर, अप्रिल र मे मा एक विनाशकारी दोस्रो कोभिड शुरु भएपछि भने भारत सरकारले भ्याक्सिन अभियानको गतिलाई बढाउने निर्णय गर्यो र निर्यातमा प्रतिबन्ध लगायो।
भारत विश्वमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दोस्रो देश हो । भारतले यस वर्षको अन्त्यसम्म आफ्नो सबै मानिसहरूलाई खोप लगाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस