aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लिथियमको साउदी अरब बन्न सक्छ अफगानिस्तान, अर्थतन्त्र सुधार गर्न लाग्यो भने तालिबान

  • सीताराम  भट्टराई
    सीताराम भट्टराई
  • शुक्रबार, ०४ भदौ २०७८
लिथियमको साउदी अरब बन्न सक्छ अफगानिस्तान, अर्थतन्त्र सुधार गर्न लाग्यो भने तालिबान

बुधवार सशस्त्र तालिबानका सदस्यहरूले अफगानिस्तानका सहरहरूमा घरका ढोकाहरू ढकढक्याए। तालिबानको नाम नै सुन्दा आतङ्कित सर्वसाधारण आत्तिए। तर, त्यहाँ अनौठो घटना भयो। देशको बिग्रिएको अर्थव्यवस्थालाई पुनर्जीवित गर्न चाहेको घोषणा गरेको एक दिनपछि त्यहाँका भयभीत बासिन्दाहरूलाई आफ्नो जागिरमा फर्कन तालिबानले घर घरमा पुगेर अनुरोध गर्दै थिए।

अमेरिकी समर्थित सरकारी सेना र तालिबान बिच २० वर्षको युद्धको दौरान भएको व्यापक विनाश र विदेशी सेनाहरूको बिदाइको कारण स्थानीय खर्चमा आएको कमी, मुद्राको मूल्यमा आएको गिरावट र डलरको अभावमा रहेको आर्थिक सङ्कटको इन्धन भर्ने प्रयासमा तालिबानहरु लागेको देखिंदैछ।

राजधानी काबुल कब्जा गरेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा तालिबानले मङ्गलवार शान्ति, समृद्धि र महिलाहरूलाई काममा प्रतिबन्ध लगाउने अघिल्लो नियमहरूबाट आफू अलग भएको देखाएको थियो। तर पनि धेरै मानिसहरू सतर्क रहन चाहेको देखेपछि तालिबानले प्रत्यक्ष रूपमा भेटेर नै मानिसहरूलाई आश्वस्त तुल्याउन थालेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरू अनुसार एक ३८ वर्षीय महिला वसिमाले भनिन् कि जब बन्दुकसहित तीन तालिबान सदस्यहरू पश्चिमी सहर हेरातमा रहेको उनको घर आए उनी स्तब्ध भएकी थिइन्। तर, उनीहरूले उनको विवरण लिए। एक सहायता सङ्गठनमा उनको जागिर थियो।  उनको तलबको बारेमा सोधपुछ गरे र उनलाई फेरि काममा जान भने।

रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरे अनुसार तालिबानले राजधानी काबुलदेखि दक्षिणमा रहेको लस्कर गाह र उत्तरी जमरा-ए-शरीफसम्म यस्तो अभियान अघोषित अघोषित रूपमा चलाएका छन्। हाल राजधानी काबुलमा थुप्रै व्यापार बन्द छन् र तालिबानले आइतबार कब्जा गरेपछि सहरको ठुलो हिस्सा सुनसान भएको छ।

रित्तो छ अफगानिस्तानको ढुकुटी 

अहिले अफगानिस्तानको राष्ट्रिय ढुकुटी रित्तो छ। त्यहाँ रहेको विदेशी मुद्रा र  सुन त्यहाँको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)को भल्टहरुमा छन्।  तर ती सबै खजानाहरू अफगानिस्तान बाहिर छन्। त्यसैले तालिबानले अचम्मको गतिसँग अफगानिस्तान कब्जा गरे पनि  अफगान केन्द्रीय बैंक को लगभग १० अर्ब डलरको सम्पत्तिमा भने कब्जा जमाउन पाएनन्।

डीएबीको जून महिनाको रिपोर्टले बैंकको स्वामित्वमा ६.१ अर्ब डलरको लगानी रहेको बताएको छ। तर,ती लगानीहरूको विवरण प्रदान गरेको छैन। तर गत वर्षको अन्त्यमा जारी प्रतिवेदनले देखाएको छ कि त्यो सम्पत्ति मध्ये अधिकांश अमेरिकी ट्रेजरी बन्ड र बिलको रूपमा थियो।

लगानी पुनर्निर्माण र विकासको लागी अन्तर्राष्ट्रिय बैंक, विश्व बैंकको माध्यमबाट त्यो सम्पत्ति न्यूयोर्कमा राखिएको थियो। यसको एक हिस्सा स्विट्जरल्याण्डमा रहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार धेरैजसो सम्पत्ति सुरक्षित कोषागार र सुनका रूपमा राखिएको त्यहाँको केन्द्रीय बैंकका गभर्नर अहमदले बताएका छन्।

उता अमेरिकी राष्ट्रपति जो बिडेन प्रशासनले भनिसकेको छ कि अफगानिस्तान सरकारको संयुक्त राज्यमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिबानलाई उपलब्ध गराइने छैन।

सरसर्ती हेर्दा जम्मा ३ अर्ब ६२ करोड डलर बराबरको विदेशी मुद्रा नगद होल्डिंगका रूपमा दा अफगानिस्तान बैंकको प्रधान कार्यालय र शाखाहरूका साथै राष्ट्रपति भवनमा राखिएको थियो, जुन अहिले तालिबानको हातमा हुन सक्छ। तर, राष्ट्रपति असरफ घानी डलर र सुनले भरिएको विमान चढेर भागेको चर्चा यसअघि नै आएको हुँदा त्यो खजाना समेत उनीहरूले नपाएको हुनसक्छ।

डीएबीले अघिल्लो वर्षको अन्त्यमा  जारी विवरणले यो पनि बताउँछ कि १६० मिलियन डलर भन्दा बढी मूल्यको सुनको पट्टी र चाँदीको सिक्का राष्ट्रपति भवनमा रहेको बैंकको भल्टमा राखिएको थियो। अफगानिस्तानको केन्द्रीय बैंकको भण्डारमा २ हजार वर्ष पुरानो सुनको गहना, र ब्याक्ट्रियन ट्रेजर भनेर चिनिने सिक्काहरूको भण्डार पनि छ। करिब २१ हजार ऐतिहासिक कलाकृतिहरू त्यहाँ सन् २००३ मा फेला परेका थिए। ती खजाना केन्द्रीय बैंकको तहखानामा एक गोप्य भण्डारमा भेटिएका थिए। जुन सम्पत्ति तालिबान शासनको अघिल्लो चरणमा उनीहरूको नजरमा परेको थिएन।

शायद, त्यो सम्पत्ति पनि अहिले त्यहाँ छैन किनकि तालिबान काबुल पुग्नु अगावै ती सम्पत्तिको सुरक्षाको चिन्ता त्यहाँका सांसदहरूले गरेका थिए। त्यसैले त्यो सम्पत्ति पनि मुलुक बाहिर नै रहेको अनुमान छ।

यस्तो छ अहिलेको आर्थिक अवस्था 

अफगानिस्तानको अर्थव्यवस्था कति नाजुक छ भने त्यो मुलुक पूर्ण रूपमा वित्तीय सहायतामा निर्भर छ । अफगानिस्तानमा तालिबानको कब्जा हुनुभन्दा धेरै महिना पहिले विश्व बैंकले अफगानिस्तानको अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरिसकेको थियो। अब अफगानिस्तानमा स्थिति पुरै परिवर्तन भएको छ। त्यसैले  आर्थिक सम्भावनाहरू अझ अनिश्चित देखिन्छन्। यसको सबैभन्दा ठुलो कारण अफगानिस्तानको लागी वित्तीय सहायताको बारेमा बनाइएको अनिश्चितता हो।

यद्यपि अफगानिस्तानमा पर्याप्त खनिज स्रोतहरू भने छन्।  तर यी संसाधनहरूको पूर्ण उपभोग देशमा राजनीतिक स्थितिको कारण हुन सकिरहेको छैन। सन् २०१९ को विश्व बैंकको तथ्याङ्क अनुसार विकासको लागि वित्तीय सहायता कूल राष्ट्रिय आयको २२ प्रतिशत बराबर थियो।

अफगानिस्तानलाई अहिलेसम्म आर्थिक सहयोग दिने देशहरू पक्कै पनि परिवर्तनशील घटनाक्रमहरूमा नजर राखिरहेका छन्। अफगानिस्तानको बारेमा विश्व बैंकले वर्णन गरेको नाजुक स्थिति तालिबानले अफगानिस्तान कब्जा गर्नु भन्दा पहिले सुरक्षामा भएको भारी खर्चबाट स्पष्ट हुन्छ।

विश्व बैंकले अफगानिस्तानको निजी क्षेत्रलाई धेरै सङ्कीर्ण भनी वर्णन गरेको छ। कृषि धेरै मानिसहरूको लागी रोजगारीको क्षेत्र हो। देशमा एक ठुलो अवैध अर्थव्यवस्था छ, जसमा अवैध उत्खनन र अफिम उत्पादन अनि यसको तस्करी जस्ता गतिविधिहरू पनि प्रमुख छन्। ड्रग व्यापार तालिबानको लागी राजस्व सङ्कलनको एक महत्त्वपूर्ण स्रोत रहँदै आएको छ।

लिथियममा चीनको चासो 

अफगानिस्तानमा प्राकृतिक स्रोतहरूको कुनै कमी छैन। यदि त्यहाँ राम्रो सुरक्षा हुने हो र भ्रष्टाचार अन्त्य गर्ने हो भने यो मुलुक अन्तर्राष्ट्रिय व्यापारको मामलामा धेरै आकर्षक साबित हुनेछ। तामा, कोबाल्ट, कोइला र फलामसहित धेरै प्रकारका खनिजहरू पर्याप्त मात्रामा यहाँ उपलब्ध छन्। यस बाहेक, तेल, ग्याँस र बहुमूल्य पत्थरहरू पनि यहाँ प्रशस्त छन्।

तर, यी मध्ये सबैभन्दा उल्लेखनीय लिथियम हो। यो त्यो धातु हो जुन मोबाइल र विद्युतीय सवारीको लागी ब्याट्री बनाउन प्रयोग गरिन्छ। यो दिशामा त्यो धेरै  उपयोगी साबित हुनेछ किनकि आउँदो समयमा शून्य कार्बन उत्पादनलाई विश्वले बढवा दिइरहेको छ। न्यु योर्क टाइम्सको एक रिपोर्ट अनुसार आन्तरिक अमेरिकी रक्षा विभागको मेमोमा भनिएको छ कि अफगानिस्तान "लिथियम को साउदी अरब" बन्न सक्छ। 

यो विश्वास गरिन्छ कि चीनले यसमा रुचि राख्नेछ। त्यसैले त्यहाँ धेरै अवसरहरू छन्। चीनको तालिबानसँग पश्चिमी शक्तिहरूको तुलनामा राम्रो सम्बन्ध रहेको देखिन्छ। यस्तो स्थितिमा यदि उनी सत्तामा रहन्छन् भने यसले चीनलाई फाइदा पुर्‍याउन सक्छ। बिशेषगरी विश्व बजारमा लिथियमको लागि हुने अबको सङ्घर्षको पूर्वानुमान लागिसकेको चीन कुनै हालतमा पनि आफ्नो छिमेकमा रहेको र सजिलै हत्याउन सकिने सो भण्डार गुमाउन चाहँदैन। 

त्यस बाहेक चीनले सधैँ चिन्ताको विषयका रूपमा चीनका अल्पसङ्ख्यक मुस्लिम उइगर अल्पसङ्ख्यक समुदायलाई विद्रोहमा उत्रनबाट निरुत्साहित गर्ने र उनीहरूलाई सहयोग नगर्ने कुरामा मात्र तालिबानले प्रतिबद्धता जनाउँदा चीनलाई पुग्ने देखिन्छ।  त्यसैले अब तालिबान र चीनबिच सहकार्य हुने सहज अनुमान लगाउन सकिन्छ।  त्यसका केही लक्षणहरू देखि सकिएका छन्।  

प्रतिक्रिया दिनुहोस