
काठमाडौं। निकै लामो समयदेखि अर्थमन्त्री जनार्दन शर्माको सामीप्यमा रहेर काम गर्दै आएका डा. सुरेन्द्रकुमार उप्रेती अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
समाचार स्रोतका अनुसार उनलाई राज्यमन्त्री सरहको सुविधा सहित नियुक्ति दिइएको हो। हाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. उप्रेती कर्णाली प्रदेश मन्त्रिपरिषद्को आर्थिक विज्ञका रूपमा समेत क्रियाशील थिए।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरिसकेका उनले यसअघि जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा पनि सँगै काम गरेका थिए।
‘नेपालको पानी जनताको लगानी’ तथा ‘उज्यालो नेपाल’ कार्यक्रम अन्तर्गत विद्युत् उत्पादनका लागि स्थापना गरेको विद्युत् उत्पादन कम्पनीको विज्ञ सञ्चालकका रूपमा डा. उप्रेतीले चार वर्ष काम गरिसकेका छन्। त्यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उप्रेती नीति अनुसन्धान प्रतिष्ठानमा आर्थिक वृद्धिका मोडलहरू बारेको अनुसन्धानमा संलग्न थिए।
प्रतिक्रिया दिनुहोस