aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोकाकोलाको  १४ लाख ८४ हजार ३०१ कित्ता शेयर बेचेको कर खै ?

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शनिबार, ०५ भदौ २०७८
कोकाकोलाको  १४ लाख ८४ हजार ३०१ कित्ता शेयर बेचेको कर खै ?

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेको विषयमा कर लाग्ने निष्कर्ष महालेखा कार्यालयको छ ।

‘ठूला करदाता कार्यालयअन्तर्गतको एक बहुराष्ट्रिय कम्पनीको कुल सेयर संख्या १९ लाख ४८ हजारमध्ये १४ लाख ८४ हजार ३०१ कित्ता शेयर अर्को बहुराष्ट्रिय कम्पनीले खरिद गरी यस कम्पनीमा प्रवेश गरेको अमेरिकाको एक सेक्युरिटी कमिसनले सन् २०१६ मा खुलासा गरेको छ,’ कोकाकोलाबारे नाम उल्लेख नगरी महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

उक्त कम्पनीको २०७१ मंसिरमा ७६।१६ प्रतिशत स्वामित्व परिवर्तन भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ । ‘तत्पश्चात् कम्पनीको नाम परिवर्तन गरिएको छ । सेयर खरिदबिक्री गर्दा भएको स्वामित्व परिवर्तनको जानकारी नेपालका कुनै पनि नियामक निकायलाई नदिनुका साथै निःसर्गमा प्राप्त भएको लाभमा कर गणना गरी दाखिला गरेको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा सञ्चालित क्रियाकलापसँग सम्बन्धित भुक्तानी भएकाले सिर्जना भएको पुँजीगत लाभमा प्राथमिक रूपमा नेपालमा कर लाग्ने देखिन्छ ।’

यस्तै प्रकृतिको कारोबारमा एक दूरसञ्चार कम्पनी ९एनसेल० को हकमा समेत सर्वोच्च अदालतबाट फैसला भई कर निर्धारणको नजिरबारे प्रतिवेदनले संकेत गरेको छ । यसकारण खरिदबिक्रीका विभिन्न आँकडा प्रस्तुत गर्दै महालेखाले ‘नेपालमा रहेको स्थायी संस्थापनबाट कट्टा गर्नुपर्ने १५ प्रतिशत अग्रिम कर ३१ करोड ९५ लाख ५१ हजार र आय विवरण पेस गरी लाग्ने २५ प्रतिशतसमेत लाग्ने कर ५३ करोड २५ लाख ८६ हजारमा लाग्ने शुल्क र ब्याजसमेत छानबिन गरी कर निर्धारण एवं असुल गर्नुपर्छ,’ भनेको छ ।

जुन कारोबारको विषयमा नेपालका सरकारी निकायलाई कुनै जानकारी नै नदिई कर छली गरेको आशंकामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले छानबिन जारी राखेको छ ।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ । ‘७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन–२०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छल्न खोजिएको’ भन्दै विभागले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस