aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अफगानिस्तानमा अलपत्र परेका ५०४ जना स्वदेश फर्किए

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, ०६ भदौ २०७८
अफगानिस्तानमा अलपत्र परेका ५०४ जना स्वदेश फर्किए

काठमाडौं । रोजगारीका लागि अफगानिस्तान गएर अलपत्र परेकामध्ये शनिबारसम्म ५०४ जना स्वदेश फर्किएका छन । अफगानिस्तानमा रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्य गर्न परराष्ट्र मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गठित कार्यदलको छैटांै बैठकले शनिबार ५०४ फर्किएको जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली श्रमिक नेपाल फर्कने प्रकृया जारी रहेको समेत उनले बताए । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौजना गरी जम्मा ३५ जना स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म कुल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले बताए ।

शुक्रबार जजिरा एयरको कुबेत–काठमाडौं नियमित उडानबाट थप १६५ श्रमिक स्वदेश आएको जनाइएको छ । हालसम्म कुल ५०४ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् । उद्धार भई स्वदेश आउनेहरूमा विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरू अतिरिक्त अनौपचारिक क्षेत्रमा काम गरिरहेका नेपालीसमेत रहेका छन् । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा शनिबार सांझ ५ बजेसम्म ३१७ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन । उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा सिचुएसन रुममा नाम टिपाएका नेपालीहरूलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूहीकृत सूची तयार गरिएको छ । उक्त समूहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगेका श्रमिकको विवरण रुजु गरी उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा समेत अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ । बाँकी रहेका श्रमिकको उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको छ ।

उद्दारका लागि तयार गरिएको सूचीमा समावेस भएका नेपालीहरूसँग परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास नयाँदिल्लीबाट समेत सम्पर्क भइरहेको र काबुलस्थित सम्पर्क व्यक्तिको रूपमा सहयोग गरिरहेका सुरेशचन्द्र शर्माले समेत उद्धारको पर्खाइमा रहेका नेपालीहरूको उद्धार कार्यमा समन्वय तथा सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस