aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

गौतम अडानीको यात्रामा सेबीद्वारा अड्चन, कम्पनीहरू माथि अनुसन्धान जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ भदौ २०७८
गौतम अडानीको यात्रामा सेबीद्वारा अड्चन, कम्पनीहरू माथि अनुसन्धान जारी

एजेन्सी। भारतीय व्यापारी गौतम अडानी नेतृत्वको अडानी समूहलाई त्यहाँको बजार नियामक निकाय सेबीले ठुलो झट्का लगाएको छ। सेबीले अडानी विल्मरको आइपिओ जारी गर्ने योजनामा प्रतिबन्ध लगाएको हो। यो सँगै उनको अडानी विल्मरलाई देशको सर्वाधिक ठुलो खाद्य कम्पनी बनाउने योजनामा अड्चन आएको हो। 

यसरी साधारण शेयर निष्कासनमा रोक लगाउनुको कारण अडानी इन्टरप्राइजेज विरुद्ध विदेशी पोर्टफोलियो लगानीमा भइरहेको जाँच रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । सो कम्पनीले आइपिओ मार्फत ४५ अर्ब भारतीय रुपैयाँ सङ्कलन गर्ने तयारी गरेको थियो।

सेबीको नियम अनुसार यदि आईपीओको लागी आवेदन दिने कम्पनी बारे कुनै विभागमा अनुसन्धान चलिरहेको छ भने त्यस्ता कम्पनीलाई ९० दिनसम्म आइपिओ लागी अनुमति दिन मिल्दैन। यसपछि पनि त्यस्ता कम्पनीले आइपिओ जारिगर्न अनुमति मागे भने थप ४५ दिनसम्मको लागी स्थगित गर्न सकिन्छ। यसअघि जून २०२१ मा सेबीले कम लागतको एयरलाइन्स कम्पनी गो फर्स्टको आइपिओलाई पनि प्रतिबन्ध लगाएको थियो किनकि यसको प्रमोटर विरुद्ध अनुसन्धान चलिरहेको थियो।

अडानी विल्मर, अडानी इन्टरप्राइजेज र सिंगापुर स्थित विल्मर इन्टरनेशनलको एक संयुक्त उद्यम हो, जुन १९९९ मा गठन भएको थियो। अडानी इन्टरप्राइजेजको अडानी विल्मरमा ५० प्रतिशत शेयर छ। यो कम्पनी खाद्य तेल उत्पादनको व्यापारमा संलग्न छ। यस बाहेक यो कम्पनीले बासमती चामल, आटा, मैदा, सूजी, रवा, दाल र बेसार जस्ता बस्तुहरूको उत्पादन र बिक्री गर्दछ। धेरैजसो उत्पादनहरू 'फर्च्यून ब्रान्ड' नाम अन्तर्गत बजारमा आउँछन्।

अडानी विल्मारको सन् २०२७ सम्ममा देशको सबैभन्दा ठुलो खाद्य कम्पनी बन्ने योजना छ। आईपीओको माध्यमबाट कम्पनीले आफ्नो लक्ष्य पूरा गर्ने योजना बनाएको छ।

अडानी समूहका सूचीकृत कम्पनीहरू मध्ये ५ वटाको बजार पुँजीकरण १ लाख करोड भारतीय रुपैयाँ भन्दा बढी छ। अडानी ग्रुपको सूचीबद्ध कम्पनीहरूमा अडानी इन्टरप्राइजेज, अडानी पोर्ट्स र स्पेसल इकोनोमिक जोन, अडानी ट्रान्समिशन, अडानी पावर, अडानी टोटल ग्याँस र अडानी ग्रिन एनर्जी रहेका छन्।

प्रतिक्रिया दिनुहोस