aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

हजुरबुबाले स्थापना गरेका उद्योगलाई नातिपुस्तासम्मले निरन्तरता

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, ०८ भदौ २०७८
हजुरबुबाले स्थापना गरेका उद्योगलाई नातिपुस्तासम्मले निरन्तरता

विराटनगर । हजुरबुबाले स्थापना गरेका उद्योग नातिपुस्तासम्म निरन्तर सञ्चालन हुनु सामान्य होइन । नातिपुस्तासम्म निरन्तर सञ्चालन हुने उद्योग नेपालमा नगन्य मात्रामा छन् । एउटै पुस्तासम्म पनि राम्ररी सञ्चालन नभएर बन्द हुने उद्योगको सूची लामै छ नेपालमा । तर, विराटनगरस्थित रघुपति जुटमिल भने नातिपुस्तासम्म आइपुग्दा पनि निरन्तर सञ्चालन भइरहेको छ ।

विराटनगरको रानीमा अवस्थित रघुपति जुटमिलको स्थापना ७५ वर्षअघि अर्थात् २००३ साल भदौ ७ गते रामलाल गोल्छाले गरेका थिए । सम्भावनाको खोजी गर्दै नेपाल छिरेका रामलाल विराटनगरलाई कर्मथलो बनाउन सुरु गरे । मोरङ, सुनसरी र झापा जुट खेतीका लागि अत्यन्तै उर्भर भूमि मानिन्छ । त्यही भएर रामलालले जुटमिल सञ्चालनमा ल्याउने निधो गरे । गोल्छाको सक्रियातामा जुटमिल स्थापना भएको हो । रामलाललाई उनका छोरा हुलासचन्द र हंशराजले उद्योगलाई अगाडि बढाउन साथ दिए । गोल्छाको सक्रियतामा उद्योग स्थापना भए पनि सरकारसमेत लगानी रहेको थियो ।

त्यसबेला रामलाल गोल्छाले कम्पनी ६ लाख लगानी गरेका थिए । नेपालमा उद्योग स्थापना गर्न रामलालको प्रमुख हात छ । तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा रहँदा २०४९ सालदेखि तीन वर्ष जति रघुपति जुटमिल बन्द भए पनि २०५२ सालमा गोल्छा अर्गनाइजेशनले मिलको ६५ प्रतिशत सेयर खरिद गरेर चलाउन थालेपछि भने निरन्तर सञ्चालन भइरहेको छ । गोल्छा अर्गनाइजेशनले २०५२ सालमा ८ करोड २० लाख रुपैयाँमा तीन किस्तामा चुक्ता गर्नेगरी ६५ प्रतिशत सेयर सरकारबाट खरिद गरेको हो । रघुपति जुटमिलसँग गोल्छा परिवारको भावनात्मक सम्बन्ध रहेकाले रघुपतिको सेयर खरिद गरेर सञ्चालन गर्न थालेको जुटकै बारेमा विद्यावारिधि गरेका उद्योगका परामर्शदाता डा.मोहनचन्द्र घिमिरे बताउँछन् । बीचमा विराटनगर जुटमिल पनि गोल्छा परिवारकै जिम्मामा आइसकेकोमा मिल सञ्चालक समितिभित्रको खिचातानी र असहयोगका कारण गोल्छा अर्गनाइजेशनले मिलबाट हात झिक्नु परेको हो ।

२००४ सालदेखि लामो समयसम्म विराटनगरको मिल्स एरिया राजनीतिक, आर्थिक, औद्योगिकलगायत हिसाबले देशकै अग्रणी स्थानको रूपमा परिचित थियो । विराटनगर जुटमिल, मोरङ सुगर मिल, गणपति कटन मिल, अशोक टेक्सटायल, हुलास मेटललगायत दर्जनौं उद्योगहरू सो क्षेत्रमा सञ्चालनमा थिए । तर अहिले रघुपति जुटमिल मात्रै जीवित छ । अरु उद्योग भने अस्तित्वमै छैनन् । गोल्छा अर्गनाइजेशनले सेयर खरिद गरेर आफ्नो व्यवस्थापनमा सञ्चालन गर्न थाल्नुभन्दा पहिले रघुपति जुटमिलको उत्पादन क्षमता दैनिक ३० टन मात्रै थियो । त्यसपछि केही समय ६० टनसम्म उत्पादन भयो । कोरोनाका कारण मजदुर कम आउँदा र भारतीय उत्पादनसँग कडा प्रतिस्पर्धा गर्नुपर्दा हाल दैनिक ५० टनमात्रै उत्पादन भइरहेको सञ्चालक राजकुमार गोल्छाले जानकारी गराए ।

३ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जुटमिल नियमित चल्नुमा सञ्चालक, व्यवस्थापक, ट्रेड युनियन र त्यहाँ कार्यरत मजदुरहरूको सकारात्मक भावनाको कारणले सम्भव भएको सञ्चालक गोल्छा बताउँछन् । मजदुर–कर्मचारीको पारिश्रमिक र ज्यालामा मात्रै जुटमिलले मासिक ४ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गर्दछ । लामो समयसम्म निरन्तर चलेर रघुपति जुटमिलले इतिहास बनाएको छ । यसमा सबैलाई श्रेय जाने गोल्छाको भनाइ छ । “७५ वर्षदेखि रघुपति जुटमिल निरन्तर सञ्चालन हुनु मजदुर–कर्मचारी, स्थानीय सबैको साथ र सहयोगले नै हो,” गोल्छा भन्छन्, “औद्योगिक क्षेत्रका लागि यो एउटा इतिहासँगै गर्वको विषय हो ।”

अन्तर्राष्ट्रिय बजारको प्रतिकूल अवस्था, भारत सरकारले नेपालका जुट उद्योगबाट उत्पादित वस्तुमा लगाउने गरेको एण्टी डम्पिङ डिउटीका बाबजुद रघुपति जुटमिल निरन्तर चलिरहेको छ । सञ्चालक राजकुमारका अनुसार पैतृक व्यवसायलाई छाड्न नसकेर प्रतिकूल अवस्थाका बाबजुद पनि निरन्तर चलाउँदै आएको हो ।

“७५ वर्ष पुगेको अवसरमा वर्षैभरी हिरक महोत्सवका रुपमा मनाउने निधो गरेका छौं,” सञ्चालक समितिका सदस्य सोम अधिकारी भन्छन्, “७५ वटा विभिन्न जातका बिरुवा रोपेर कार्यक्रमको सुरुवात ग¥यौं ।” जुटमिलका कारण आसपासका पसल, बोर्डिङ, होटल, चियानास्ता पसल राम्ररी चलेको उनको भनाइ छ । “एउटा उद्योग बन्द हुँदा आसपासको क्षेत्रलाई कतिसम्म असर पर्छ भन्ने कुरा विराटनगर जुटमिल बन्द हुँदा वरिपरिको क्षेत्रमा परेको असरलाई हेर्दा हुन्छ,” उनी भन्छन्, “उद्योगमा काम गर्ने मजदुरकै कारण रघुपति जुटमिल वरिपरि मात्रै दर्जनौं पसल चलेका छन् ।”उत्पादित जुटमध्ये ९५ प्रतिशतभन्दा बढी भारत निर्यात हुन्छ । १५ बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा ४० वर्षदेखि काम गर्ने मजदुर पनि भेटिन्छन् । 

गोल्छाका अनुसार हजुरबुबा, छोरा र नाति सँगसँगै काम गर्नेहरू पनि जुटमिलमा छन् । इतिहास बोकेको उद्योग भएकाले घाटा सहेर भएपनि सञ्चालन गरिरहेको उनी बताउँछन् । यहाँ कार्यरतमध्ये ९५ प्रतिशत मजदुर नेपाली नै छन् । “नेपाल–भारत सीमा नजिक भएकाले केही मात्रामा सीमा क्षेत्रका भारतीय नागरिकले पनि काम गर्छन्,” गोल्छाले भने, “९५ प्रतिशतभन्दा बढी नेपालीले नै काम गरिरहेका छन् ।”

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मात्रै जुटमिल सञ्चालानमा छन् । यस क्षेत्रमा स्थापित ११ मध्ये आधा उद्योग बन्द भइसकेका छन् । हाल रघुपतिसहित अरिहन्त, बाबा, स्वस्तिक, मोरङ जुट मिल सञ्चालनमा छन् । वातावरणमैत्री, मजदुरमैत्री र निर्यातमूलक उद्योग भएकाले जुट उद्योगलाई राज्यले नै संरक्षण गर्नुपर्ने जुट विज्ञ डा। घिमिरे सुझाउँछन् । कृषिमा आधारित उद्योग भएकाले यस्ता उद्योगको संरक्षणमा राज्य लाग्दा मुलुकलाई फाइदा पुग्ने उनको धारणा छ । घिमिरेका अनुसार भारतमा जुट उद्योगलाई राज्यले नै संरक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस