aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार साँझ नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) पत्रकार सम्मेलन गरी राजीनामा गरेको जानकारी दिएका हुन्। 

उनी सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सिइओ साउद विवादमा तानिएका थिए । उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसद्को अर्थ समितिका सदस्यहरूले साउदलाई निलम्बन गरी कारबाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउदका पारिवारिक सदस्यका नाम किनिएको खुलासा भएपछि व्यापक रूपमा दुवैको आलोचना भएको थियो। साउदले श्रीमतीका नाममा शेयर किनेका छन्। नेपाल धितो पत्र बोर्डका अध्यक्ष ढुङ्गानाले भने छोरीको नाममा शेयर खरिद गरेका छन्।

यसअघि सङ्घीय संसद्को अर्थ समितिको बैठकमा साउदले कानुनले बाटो नछेके पनि आफ्नो पदीय मर्यादा र जिम्मेवारीका हिसाबले शेयर खरिद गर्नु गल्ती भएको स्वीकार गरेका थिए । कानुनले आफूलाई ओटीसी मार्केटमा शेयर किनबेच गर्न भने रोक नलगाएको उनको तर्क त्यहाँ पनि राखेका थिए।

त्यसैबेला उनले अब यस्ता कमजोरीबाट म एक कोश टाढै रहने प्रतिबद्धता समेत जायर गरेका थिए। उनले ऐन नियमभन्दा बाहेक संस्थाहरूको नेतृत्वमा बस्ने व्यक्तिलाई समाजले पनि हेरिरहेको हुने हुँदा यसतर्फ पनि ध्यान दिने विषयमा आफ्नो चेत खुलेको बताए। मंगलबारको उनको निर्णयलाई त्यहि चेत खुलेको रूपमा हेर्न सकिन्छ। 

साउदले पूर्व सूचनाका आधारमा किनेको शेयरको भित्री कारोबार समेत हुनसक्ने सम्भावना छ। धितो पत्र ऐनको दफा ९१ ले भित्री कारोबारका सम्बन्धमा व्याख्या गर्दै ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितो पत्र कारोबार गरेमा वा अरूलाई धितो पत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भन्ने व्यवस्था गरेको छ। 

प्रतिक्रिया दिनुहोस