aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालीको भान्सामा देखिँदै छ तालिबानले अफगानिस्तान कब्जा गर्दाको असर

  • सीताराम  भट्टराई
    सीताराम भट्टराई
  • बुधबार, ०९ भदौ २०७८
नेपालीको भान्सामा देखिँदै छ तालिबानले अफगानिस्तान कब्जा गर्दाको असर

काठमाडौँ। अफगानिस्तानमा तालिबानले शासन हातमा लिँदा क्षेत्रीय राजनीतिमा त्यसको कस्तो प्रभाव पर्ला भन्ने धेरै चर्चा भैसकेको छ। तर, हामी मध्ये कमैले मात्र अनुमान लगाएको होला कि नेपाली बजारमामा समेत त्यसले नकारात्मक प्रभाव पार्ने वाला छ। यहाँसम्मकी हाम्रो भान्सालाई समेत अफगानिस्तानमा भएको राजनीतिका परिवर्तनले सताउने देखिएको छ। 

नेपाली उपभोक्ताले निकै मूल्यमा ठुलो उतारचढाव देख्दै आएको तरकारी हो, प्याज। हो, त्यही प्याजको मूल्य यो दसैँमा निकै माथि जाने आशङ्का बढेको छ। किनकि नेपालमा भारतबाट भित्रिने प्याजको ठुलो हिस्सा अफगानिस्तानमा उत्पादन भएको हो।

अब यो वर्ष अफगानिस्तानबाट भारतमा प्याज आउने सम्भावना निकै कम छ।  किनभने तालिबानले भारतलाई राम्रो मान्दैनन्।  त्यसो त, पाकिस्तान हुँदै पनि भारत र नेपालसम्म अफगानी प्याज आउने सम्भावना भने सकिएको छैन। तर, त्यसो हुँदा पनि प्याजको मूल्य बढ्ने भने पक्का छ। 

यसको अर्थ अहिले नै प्याजको मूल्य बढी हालेको भने होइन। अहिले पनि नेपाली बजारमा प्याजको थोक मूल्य ४८ रुपैयाँ प्रति किलो मात्र छ। अघिल्लो वर्षको तुलना गर्ने हो भने अहिले प्रति केजी ८ देखी १० रुपैयाँले मात्र महँगो हो। यहाँ ध्यान दिनुपर्ने कुरा यो छ कि गत वर्ष हामीले भारतमा नै उत्पादित प्याज उपभोग गर्न पाएका थियौँ।

तर, बि. स. २०७६ असोजमा नेपाली बजारमा प्याजको थोक बजार मूल्य नै प्रति किलो १२० रुपैयाँ थियो। त्यस बेला भारतमा प्याजको उत्पादन अहिले अनुमान गरिए जस्तै कम भएको थियो। यो साल भारतमा प्याजको उत्पादन निकै नै खराब स्थितिमा रहेको त्यहाँका संचारमाध्यमहरुले उल्लेख गरेका छन्।  

यस्तोमा भारतीय किसानले भने यो वर्ष प्याजको राम्रो मूल्य पाउने देखिएको छ। हाम्रो देशमा चीनबाट समेत प्याज आउने गरेको छ। तर, नेपाली उपभोक्ताले चिनियाँ प्याजलाई नरुचेको यस अघि प्याजको हाहाकार भएको बेलामा नै समेत देखिसकिएको छ।  छिमेकी मुलुक भारतमा भने राजस्थानमा ठुलो मात्रामा प्याजको खेती हुने गरेको छ। 

त्यसबाहेक भारतको कर्नाटक, आन्ध्र प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थान प्रान्तमा प्याजको अधिकतम उत्पादन छ। यदि प्याजको मूल्य बढ्ने क्रम जारी रह्यो भने यी राज्यहरूका किसानहरूलाई हजारौँ करोड लाभ हुन सक्छ। तर, पछिल्लो पटक भारतको कर्नाटकमा प्याजको खेती बिग्रेका कारण मूल्य बढेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

त्यस बाहेक अन्य राज्यमा पनि प्याजको उत्पादन खराब रहेको खबर छ। यसैले पनि प्याजको मूल्य धेरै उच्च हुने सम्भावना छ। भनिरहनुपर्दैन कि भारतीय बजारमा प्याजको मूल्य बढ्नु भनेको नेपाली भान्सा समेत महँगिनु हो। 

त्यसो त हरेक वर्ष भारतले अफगानिस्तानबाट नै प्याज ल्याउँथ्यो भन्ने होइन।  सन् २०१९ मा भारतीय बजारमा नै प्याजको मूल्य प्रतिकिलो १०० भारतीय रुपैयाँ हुँदा भारतले अफगानिस्तानबाट २ हजार टन प्याज आयात गरेको थियो। यस पछि मूल्य प्रति किलो ५० देखि ५५ सम्ममा घट्यो। त्यस बेला केन्द्रीय सरकारले अफगानिस्तानबाट प्याजको आयातको विकल्प रोजे जसरी अब पनि प्याजको सहज आपूर्ति त्यहाँबाट गर्न निकै गाह्रो हुने देखिएको छ। 

प्रतिक्रिया दिनुहोस