aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

विश्व बैंकले पनि रोक्यो अफगानिस्तानमा आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ भदौ २०७८
विश्व बैंकले पनि रोक्यो अफगानिस्तानमा आर्थिक सहयोग

एजेन्सी। तालिबानको शासनमा रहेका महिलाहरूको भविष्यको चिन्ताका बिच विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ। तालिबानले अफगानिस्तानको शासन आफ्नो नियन्त्रणमा लिएपछि विश्व बैंकको सहयोगमा त्यहाँ सञ्चालित सबै परियोजनाहरूको भुक्तानी रोक्ने निर्णय सो अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गरेको हो।

यो समाचारले अफगानिस्तानको अर्थतन्त्रलाई अर्को झट्का दिनेछ जुन विदेशी सहायतामा धेरै निर्भर छ। अहिले त्यहाँका नागरिकहरूले  खाद्यान्नको मूल्यमा अत्यधिक वृद्धिको सामना गरिरहेको सीएनएनले जनाएको छ।

विश्व बैंकका प्रवक्ता मार्सेला सान्चेज-बेन्डरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "हामी अफगानिस्तानको स्थिति र देशको विकासको सम्भावनाहरू विशेष गरी महिलाहरूको लागी पर्ने प्रभावको बारेमा गहिरो चिन्तामा छौँ।" विश्व बैंकको वेबसाइटका अनुसार विश्व बैंकले अफगानिस्तानमा विकास परियोजनाहरूका लागी ५.३ बिलियन डलर भन्दा बढी प्रतिबद्धता जनाएको छ। विश्व बैंकद्वारा प्रशासित अफगानिस्तान पुनर्निर्माण कोष कोषले १२.९ बिलियन डलर भन्दा बढी उठाएको छ।

"हामीले अफगानिस्तानमा हाम्रो सञ्चालनमा भइरहेको वितरण रोकेका छौँ र हामी नजिकबाट हाम्रा आन्तरिक नीतिहरू र प्रक्रियाहरू अनुरूप स्थितिको आकलन गर्दैछौं," सान्चेज-बेन्डरले भने। विश्व बैंकले यसबारे अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारहरूसँग परामर्श जारी राख्ने बताएको छ।

यसअघि तालिबानको कब्जापछि आईएमएफले अफगानिस्तानबाट ४५० मिलियन डलर कोष रोकेको छ। "हाम्रा साझेदारहरू सँगै हामी कठिन तरिकाले जितेको विकासको लाभहरूलाई बचाउन र अफगानिस्तानको जनतालाई समर्थन जारी राख्नको लागी संलग्न रहन सक्ने तरिकाहरू खोजिरहेका छौँ," सान्चेज-बेन्डरले भने।

काबुलमा अमेरिकी समर्थित सरकारको पतनपछि अफगानिस्तानका जनता मुद्रास्फीतिको खतरामा परेका छन्। सीएनएनलाई दिएको अन्तर्वार्तामा अफगानिस्तानका पूर्व केन्द्रीय बैंकका प्रमुख अजमल अहमदीले शुक्रवार आफ्नो देशमा "आर्थिक कठिनाइ" हुने चेतावनी दिए र अन्तर्राष्ट्रिय समुदायलाई सहयोग प्रदान गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस