
काठमाडौं। आन्तरिक राजस्व विभागका काम कारबाहीबारे बिहीबार जानकारी लिँदै अर्थमन्त्री जनार्दन शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका थिए। त्यस लगत्तै सरकारले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक परिवर्तन गर्यो।
शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभाग र नारायणप्रसाद सापकोटालाई भन्सार विभागको जिम्मेवारी दिएका अर्थमन्त्रीले रिक्त राजस्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्कर कर्णलाई दिएका छन्। यससँगै झट्ट सुन्दै असम्भव लाग्ने कामको जिम्मेवारी सहित एक कनिष्ठ सचिव अर्थ मन्त्रालयमा छिरेका छन्। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई राजस्व सचिवमा ल्याउने निर्णय गरेको हो। केही महिना अघि मात्रै सचिव भएका उनले राजस्व क्षेत्रमा कम अनुभव भए पनि महत्त्वपूर्ण र चुनौतीयुक्त जिम्मेवारी पाएका हुन्।
यस्तो छ, खास जिम्मेवारी
अर्थ मन्त्रालयमा सबैभन्दा महत्त्वपूर्ण पद नै राजस्व सचिवको पद हो। तर, आम बुझाई त्यस्तो छैन। अर्थ मन्त्रालय हुनाले 'अर्थ सचिव' वरिष्ठताको आधारमा सिनियर हुने स्वाभाविक नै छ। तर, काम र जिम्मेवारीको ठिक ढङ्गले विश्लेषण गर्ने हो भने कामकाजी सचिव चाहिँ राजश्व सचिव नै हुन्। यो किन भनिएको हो भने अर्थ सचिवले बजेट महाशाखा, वैदेशिक अनुदान र प्रशासन मात्र हेर्नुपर्छ भने राजस्व सचिवका जिम्मेवारी धेरै छन्।
राजश्व सचिवले हेर्ने सर्वाधिक महत्त्वपूर्ण पाटो भनेको वित्तीय क्षेत्र व्यवस्थापनको हो। सामान्य रूपमा हेर्दा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) आदीलाई अर्थ मन्त्रालयबाट हेर्ने प्रमुख व्यक्ति नै राजस्व सचिव हुन्। अहिले चर्चामा रहेको नेप्से र सेबोन प्रमुखले सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको प्रकरणमा लामो समयसम्म अन्योलता र अर्थ मन्त्रालयको अकर्मण्यता पछाडि रहेको मुख्य कारण नै राजस्व सचिवको कुर्सीको रिक्तता थियो।
राजश्व सचिवको कुर्सी रिक्त रहेको बेला लगभग दुई सातामा मात्र ठुलो संख्यामा नक्कली अन्त:शुल्क स्टिकर पक्राउ परे। सिद्धार्थनगर नगरपालिका–३, दरखसवास्थित एक घरबाट २ लाख ४० हजार वटा आन्तरिक राजश्व विभागको नक्कली स्टिकर अघिल्लो शुक्रवार पक्राउ परेको थियो। उता कैलालीबाट साउन अन्तिम साता ७७ रोल आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर फेला परेका थिए । यसले के देखाउँछ भने राजस्व सचिवको सक्रियता केही कम मात्र भयो भने पनि राज्यले अर्बौँको राजस्व गुमाउने अवस्था आउने रहेछ।
त्यसबाहेक अहिले बैंकिंग क्षेत्रमा तरलता कम भएको जुन चर्चा छ त्यसलाई अर्थ मन्त्रालयबाट हेर्ने, चासो राख्ने भनेकै राजस्व सचिवले हो। सामान्य रूपमा भन्दा मुलुकको वित्तीय क्षेत्रमा तरलताको स्थिति कस्तो छ भन्ने खोज निन्दा गर्ने उपल्लो व्यक्ति नै राजस्व सचिव हो। आन्तरिक ऋण उठाउने वा नउठाउने, कति प्रतिशत ब्याजमा लिने वा के गर्ने भन्ने निर्धारण गर्ने नै उनले हो।
उता बीमा क्षेत्रका यावत् समस्यालाई कसरी हाल गर्ने भन्ने पनि राजश्व सचिवले नै गर्नुपर्छ। अहिले कै कुरा गर्ने हो भने कोरोना बीमाको विषयले सम्पूर्ण बीमा क्षेत्र कै साख गिर्ने अवस्था बन्दैछ। बीमा भनेको ठग्ने र झुक्काउने कुरा हो भनेर कोरोना बीमाको भुक्तानी नपाएको उदाहरण सर्वसाधारणले दिन थालिसकेका छन्। त्यसै पनि दायरा वृद्धिमा अनेकौँ समस्या भोग्दै आएको बीमा क्षेत्रलाई यो 'कोरोना बीमा' भुक्तानीको भड्खालोबाट कसरी बाहिर निकाल्ने भन्ने निर्णय पनि अब कृष्णहरिले नै गर्नुपर्ने भएको छ।
त्यसबाहेक सबै कर, भन्सार आदिसँग सम्बन्धित काम र निर्णय त त्यसै पनि राजश्व सचिवको जिम्मेवारीमा नै छँदैछ। उता सीमामा खटिएका सशस्त्र प्रहरीले गर्ने काम देखि भन्सार र राजस्व विभागलाई प्रत्यक्ष रूपमा उनैले हेर्नुपर्छ।
यसरी अर्थ मन्त्रालयमा बाहिरबाट जाने आगन्तुकले खासै धेरैले नसोध्ने, नखोज्ने तर मन्त्रालयको प्रमुख धमनी नै सम्हाल्नु पर्ने काम सचिव कृष्णहरिको काँधमा आएको छ।
छैन राजस्व प्रशासनको अनुभव
सामान्यतया वरिष्ठ मध्येका सचिवलाई अर्थ सचिव बनाउने चलन थियो। तर, सचिव बनेको एक वर्षमा नै मधु मरासिनी अर्थ सचिव भए। अर्को चलन के छ भने अर्थ सचिव भन्दा राजस्व सचिव कनिष्ठ व्यक्तिलाई बनाउने गरिन्छ। त्यसो हुँदा मरासिनी भन्दा 'कान्छा' सचिवहरू नै थोरै थिए। गणेश पाण्डे, दामोदर रेग्मी, मधुसूदन बुर्लाकोटी, डिल्ली राज शर्मा, राम प्रसाद घिमिरे लगायत केही सीमित सचिवहरू मध्येबाट राजश्व सचिव छान्नु पर्ने बाध्यता बिच सरकारले गरेको अहिलेको छनौट उत्कृष्ट हो।
तथापि, कृष्णहरि पुष्करसँग राजस्व प्रशासनमा प्रत्यक्ष बसेर काम गरेको अनुभव छैन। उनीसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको अनुभव छ।राजश्व क्षेत्रसँगको साइनो भनेको सिडिओ हुँदा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गर्दा जोडिएको मात्र हो।
बरु उनले श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राम्रो कुशलता प्रदर्शन गरिसकेका पुष्कर राजस्व सचिवको जिम्मेवारी पाउनु अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अतिरिक्त सचिव थिए।
पुरा होला दोब्बर राजस्व सङ्कलनको लक्ष ?
विवेक ठिक ठाउँमा भएको सामान्य मानिसले यस बेला कल्पना समेत गर्न नसक्ने काम अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई दिएका छन्। त्यो हो, राजस्व दोब्बर पार्ने लक्ष्य। अहिले मुलुकको हरेक क्षेत्र कोरोना महामारीको मारमा छ। व्यापार व्यवसाय ठप्पको अवस्थामा छन् भन्नुपर्ने बेलामा अर्थमन्त्रीले दुई साता अघि राजस्व सङ्कलन दोब्बर पार्ने कार्ययोजना बनाउन निर्देशन दिए।
त्यो भएको के हो भने सबैलाई कर लगाउने। जे मा पनि कसेर कर लिने नीति अवलम्बन गर्ने। कहीँ कतै कुनै छुट नदिने। करको मामिलामा सकेसम्म अनुदार बन्ने। के त्यो यस बेला सम्भव छ ? वा, राज्यले नागरिकलाई करको मारमा यस्तो बेला धकेल्न मिल्छ ? सामान्य रूपमा सोच्दा मिल्दैन। तर, फरक ढङ्गले सोच्ने अर्थमन्त्री जनार्दन शर्माले यसरी नै सोचे। अर्थात् उनी अब कसरे कर असुल्ने सोचमा छन्।
त्यही काम गर्न आँटिला युवा सचिव कृष्णहरि पुष्कर राजस्व सचिवका रूपमा अब नियुक्त भएका छन्। उनले आन्तरिक राजस्व विभागका शोभाकान्त पौडेल र भन्सार विभाग नारायणप्रसाद सापकोटाको साथ लिएर शर्माको उद्देश्य पुरा गर्नु पर्ने छ।
यसअघि राजश्व सचिवको जिम्मेवारीमा रहेका रामशरण पुडासैनीले उमेर हदका कारण साउन २४ गते अनिवार्य अवकाश पाएपछि अर्थ मन्त्रालयमा सो पद खाली थियो। बि. स. २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्करले अहिले त्यही पद पाएका हुन्। तर, उनी आफ्नो जिम्मेवारी पुरा गर्न कति सफल हुन्छन् त्यो भने भविष्यले नै बताउने छ।
प्रतिक्रिया दिनुहोस