aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

यी हुन् विश्वका सबैभन्दा सुरक्षित सहर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
यी हुन् विश्वका सबैभन्दा सुरक्षित सहर

काठमाडौं । विश्वका सबैभन्दा सुरक्षित सहरको रूपमा डेनमार्कको कोपन हेगन रहेको देखिएको छ । सन् २०२१ को सुरक्षित सहरहरूको इन्डेक्समा प्रकाशित सूचीकृत ६० सहरहरूमध्ये कोपन हेगनले ८२.४ अंकसहित शीर्ष स्थान हासिल गरेको हो । त्यस्तै, दोस्रो नम्बरमा क्यानडाको टोरन्डो रहेको छ । जसले ८२.२ अंक पाएर दोस्रो स्थानमा रहेको छ । 

यसरी सहरहरूको मूल्याङ्कन गर्दा ७६ वटा सूचाकांकहरुलाई आधार बनाइएको छ । जसमा प्रमुखरुपमा डिजिटल सेवा, स्वास्थ्य सेवा, पूर्वाधार, व्यक्तिगत सुरक्षा र पर्यावरणलाई आधार बनाइएको छ । 

द इकोनोमिक्सले प्रकाशित गरेको सो रिपोर्टमा उल्लेख गरिए अनुसार विश्वका धेरै जसो ठुला सहरहरूमा पर्याप्तरुपमा असुरक्षित क्षेत्र छन् । उदाहरणकोरुपमा हेर्ने हो भने समग्रमा नम्बर एकमा बन्न सफल रहेको कोपन हेगन स्वास्थ्य क्षेत्रको दृष्टिले हेर्ने हो भने २६ औँ स्थानमा रहेको छ ।

सो सूचीका अनुसार एसिया प्रशान्त क्षेत्रका प्रमुख सहरहरू सूचीको दशौँ स्थानभित्र पर्न सफल भएका छन् । जसमा सिंगापुर, टोकियो, सिड्नी, हङकङ, मेलबर्न लगायत रहेका छन् ।  

यो सूचीमा अमेरिकी सहरहरू भने निकै पछि रहेका छन् । अमेरिकाको लसएञ्जल्स र सनफ्रान्सिसकोले डिजिटल सेक्युरिटीको सन्दर्भमा टप ५ मा स्थान हासिल गर्न सफल भए पनि समग्रमा सिकागो २६ औँ नम्बरमा रहेको देखिन्छ । 

न्युयोर्क १२ औँ स्थानमा रहेको छ भने हाम्रो छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली ४८ औँ स्थानमा छ । त्यसैगरि बलिउड नगर मुम्बई ५० औँ स्थानमा रहँदा पाकिस्तानको कराची अन्तिमबाट दोस्रो अर्थात् ५९ औँ नम्बरमा रहेको छ । सर्वाधिक पछिल्लो ६० औँ स्थानमा म्यानमारको राजधानी याङगुन रहेको छ । 

स्वभाविकरुपमा विश्वका ठुला सहरहरूको गन्तीमा नपर्ने भएकाले काठमाडौं त्यो सूचीमै छैन भने अहिले विश्वभरिका सञ्चारमाध्यमहरूको शीर्षक बनिरहेको अफगानिस्तानको काबुललाई पनि सर्वाधिक असुरक्षित सहर घोषित गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस