aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

पोखरेलीले नै मणिपाल किन्दा पूर्व स्वास्थ्य मन्त्री अधिकारीलाई किन यस्तो छटपटी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
पोखरेलीले नै मणिपाल किन्दा पूर्व स्वास्थ्य मन्त्री अधिकारीलाई किन यस्तो छटपटी

काठमाडौँ। पोखराको मणिपाल मेडिकल कलेज किनबेच बारेको क्रिया प्रतिक्रियाले नयाँ मोड लिएको छ। बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले मणिपाल कलेज खरिद गर्दा पोखराका पुराना नेता तथा सांसद खगराज अधिकारीले यसबारे फेसबुक स्ट्याटस नै लेखेपछि यो विषयले नयाँ मोड लिएको हो। 

नेपाल सरकार र मणिपाल बिच भएको सम्झौता सार्वजनिक गर्न भन्दै पूर्वस्वास्थयमन्त्री खगराज अधिकारीले फेसबुकमा लेखे, “मणिपालले नेपाल सरकारसँग गरेको सम्झौता सार्वजनिक गरियोस्, अहिलेको यथार्थ पारदर्शी रूपमा स्पष्ट पारियोस् । जनताले पाउने सेवा सुविधा अहिलेको भन्दा सरल बनाइयोस् र पूर्ण प्रतिस्पर्धाका आधारमा सार्वजनिक गरियोस् । यसले मात्रै सर्वसाधारणमा रहेको अन्योल हट्न सक्दछ । त्यसमा समावेश भएको नेपाल सरकारको जग्गा जमिनको दायित्व पनि स्पष्ट हुनु आवश्यक छ ।”

पुर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले माग गरेको सम्झौता सरकारले सार्वजनिक नगरे पनि सरकारको चौथो अङ्ग मानिने सञ्चार माध्यमहरूले बाहिर ल्याइसकेका छन्। त्यो दस्ताबेज हेर्दा बापो होल्डिङ्सले मणिपाल किन्दा कसैले कोकोहोलो मच्चाउनु पर्ने कुनै कारण देखिँदैन। तर, त्यो क्रम जारी नै छ। त्यसमाथि स्वयम् सांसद अधिकारी नै यो खरिद बिक्री प्रक्रिया रोकियोस् भन्ने माग दाबी सहित अदालतमा यो विषयलाई पुर्‍याउने तयारीमा लागिरहेका छन् भन्ने खबर समेत आइरहेका छन्। 

धेरैलाई अनुमान लगाउनै गाह्रो छ, किन खगराजलाई यो विषयले पिरोलेको होला ? तर, कुरा भने द्रव्यसँग जोडिएको एक पोखरेली पत्रकारले बताएका छन्। उनका अनुसार अधिकारीको लागि एक प्रकारको 'दुहुनो गाई' नै थियो मणिपाल मेडिकल कलेज। अब पार्टी सरकारबाट पनि हटेको बेला आफ्नो स्थानीय आर्थिक स्रोत समेत सुक्ने भएपछिको छटपटी हो, यो। आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, "अधिकारी सांसद ज्यू, मुद्दामा गएर यो कारोबार रोक्ने विषयमा शनिवार बिहानै देखी कानुनी परामर्शमा लाग्नु भएको जानकारी छ।" 

राजनीतिक सक्रियताबाट टाढै बस्न चाहने तर नेपाली काँग्रेस निकट रहेका आनन्दराज बतासले आफ्नो नियमित स्रोतको स्वामित्व लिँदाको पिडा खगराजलाई अलि बढिने परेको पोखरावासीको बुझाइ रहेको छ। मणिपाल प्रकरण कसले कुन उद्देश्यले उचालिरहेका छन् भन्ने आफूले नजिकबाट नियालिरहेको बताउने पोखरा एमाले कै एक जिल्ला स्तरका नेताले भने, "यस्तै बेला हो, सबैको असली अनुहार देखिने। जब मानिसले खाइपाइ आएको गुम्न लागेको देख्छ नि त्यो बेला जस्तोसुकै होसियार हुँ भन्नेको पनि विवेक गुम्छ। अहिले अधिकारीले सानो लाभको लागी ठुलो जोखिम मोल्दैछन्। फेसबुक स्ट्याटसले त्यही देखाउँछ।" 

अहिले अधिकारीलाई माया गर्ने धेरै पोखरेलीहरू एउटा प्रश्न गरिरहेका छन्- किन उनले नचाहिँदो उपद्रो गर्न खोजेका होलान् ? न त पार लाग्ने कुरा नै हो। बरु, भारतीयले सञ्चालन गर्दा भन्दा नेपाली र त्यो पनि पोखराका स्थानीयले नै अस्पताल चलाउँदा लिन पाउने लाभको भने आफूहरूले अलिक बढी नै अपेक्षा गरेको स्थानीयवासीले बताएका छन्। 

त्यसो त बजारमा मणिपाल मेडिकल कलेज खरिद बिक्रीबारे जे जस्ता कुरा मथ्ने प्रयास गरिए पनि समग्रमा पोखराका स्थानीयहरूको के कस्तो बुझाई छ भन्नेबारे त्यहाँका एक स्थापित पत्रकार आरके ज्ञवालीले प्रमाण सहित हालेको यो फेसबुक पोष्ट नै काफी हुन्छ - 'उ बेलामा भारतीयलाई सरकारी जग्गा दिँदा उसले चाहेमा आजीवन प्रयोग गर्न पाउने गरी सम्झौता गरिएको छ । अजासुहरु सम्झौताको एउटा टुक्रो पढेर सरकारीकरण सरकारीकरण भन्दै छन् ।

अन्तिम लाइन हेरौँ त । भाषा कस्तो छ । जग्गा उपलब्ध गराउने रे । गराउन सक्नेछ भन्ने पनि छैन । सरकारले भाडा महगाे भन्न पाउँछ तर यो बुँदा अनुसार जग्गा दिन्न भन्न पाउन्न । यस्तो खतरनाक सम्झौतामा तत्कालीन नेपाल सरकार चुकिसकेको छ ।' 

प्रतिक्रिया दिनुहोस