
काठमाडौं । सरकारले प्रतिस्थापन अध्यादेश जारी गर्ने तयारी गरिरहेका कारण अहिले नेपाली बजारमा अनेकौँ संकटहरु देखा पर्न थालेका छन् । आर्थिक वर्षको पहिलो दुई महिना सरकारी खर्च अत्यन्तै न्यून हुँदा बैंकिङ क्षेत्रमा ठुलो समस्या देखा परिसकेको छ ।
तरलता अभावका कारण बैंकहरु राष्ट्र बैंकबाट महँगो ब्याजदरमा पैसा लिन बाध्य बनिरहेका छन् भने नयाँ लगानीकर्ताहरुमा समेत अहिले उत्साह देखिएको छैन । कतै नेपालको अर्थतन्त्रले अनपेक्षित सुस्तता बेहोर्नु पर्ने त होइन भन्ने चिता आम मानिसहरूमा छाइरहेको छ ।
तर, छिमेकी मुलुक भारतबाट भने एउटा खुसीको खबर बाहिर आएको छ । भारतको अर्थतन्त्रले लय समातेको देखिएको हो । आर्थिक वर्ष २०२१÷२२ को पहिलो त्रैमासमा त्यहाँको कुल ग्राहस्थ उत्पादन जिडिपीमा देखिएको उत्साहजनक वृद्धिले यस्तो निष्कर्ष निकालिएको हो ।
कोरोना सङ्कटका बिच पहिलो पटक भारतीय सरकारले उत्साहजनक लक्षण महसुस गर्न पाएको छ । २० प्रतिशतको नयाँ रेकर्ड बनाएको भारतीय अर्थतन्त्रको पहिलो त्रैमासले त्यो गतिलाई कायम राखे कोरोना महामारीको मारलाई तुरुन्तै कम गर्न सक्ने अनुमान भारतीय अर्थशास्त्रिहरुले गरिरहेका छन् ।
त्यसो त भारतीय केन्द्रीय बैंकले गरेको अर्को अध्ययनमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा त्यहाँको अर्थतन्त्रमा १८.५ प्रतिशतको वृद्धि अनुमान लगाइएको थियो । अझ दोस्रो त्रैमासमा त २१.४ प्रतिशतको वृद्धि हासिल गर्ने अनुमान भारतीय रिजर्भ बैंकको रहेको छ ।
स्मरणीय छ, कोरोना महामारीका कारण भारतको अर्थतन्त्रमा अत्यन्तै ठुलो गिरावट आएको थियो । अघिल्लो वर्ष पहिलो त्रैमासमा २३.९ प्रतिशतले जिडिपी तल झरेको थियो । त्यसैगरि गत वर्षको दोस्रो त्रैमासमा ७.५ प्रतिशतले तल झर्दा समग्र रूपमा अघिल्लो आर्थिक वर्षमा भारतीय अर्थतन्त्रले ७.३ प्रतिशतको नकारात्मक वृद्धि सामना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस