
नयाँ दिल्ली । सरकारले काठमाडौं– नयाँ दिल्लीको उडान संख्या बढाउन दुई विमान कम्पनीलाई अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगम तथा एयर इन्डियालाई प्रत्येक दिन उडान गर्न अनुमति दिएको हो । यो रुटमा अब सातामा १४ वटा उडान हुनेछन् ।
नेपाल–भारतबीच भएको एयर बबल सम्झौताअनुसार हाल दुई देशका सरकारी विमान कम्पनीले मात्रै एक अर्को देशमा उडान गरिरहेका छन् । सम्झौतामा निजी कम्पनीहरूलाई उडानको अनुमति दिने उल्लेख छैन । सम्झौता अझै कायमै रहेकोले निजी कम्पनीले कहिलेदेखि उडान गर्न पाउँछन् भन्ने यकिन छैन ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यात्रुहरूको चाप बढेको तथा भाडा चर्को भएको गुनासो आएकोले उडान संख्या थप्ने अनुमति दिइएको बताए । ‘कोरोना महामारीको अवस्था पनि सहज हुँदै गएको छ । अन्य सबै क्षेत्र खुकुलो भइसकेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर उडान थप्न अनुमति दिइएको हो,’ उनले भने, ‘अब नेपाल वायू सेवा निगम र एयर इन्डिया दुबैले सातामा ७ उडान संख्याको सीमाभित्र रहेर उडान गर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस