aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिरासतबाटै ग्रिल काटी फरार अभियुक्तहरु पुनः पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
हिरासतबाटै ग्रिल काटी फरार अभियुक्तहरु पुनः पक्राउ

काठमाडौं । ललितपुर भैंसेपाटीबाट हिरासत कक्षको ग्रिल काटी फरार रहेकामध्ये दुई जना अभियुक्तहरु पुनः पक्राउ परेका छन् । 

रामेछाप, रामेछाप नगरपालिका–५ बस्ने २५ वर्षीय बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय शम्शेर माझीलाई काठमाडौं बौद्ध जम्बुडाँडाबाट बुधबार साँझ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटी ललितपुरको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी सोमबार रातिको समयमा श्रेष्ठ र माझी फरार भए पश्चात् प्रहरीले खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । 

ललितपुर गोदावरी नगरपालिका(९ छम्पीस्थित केशब थापाको घरबाट गत वैशाख १५ गते साँझको समयमा बिभिन्न धनमाल चोरी कार्यमा संलग्न रहेको र ललितपुर महानगरपालिका–१९ लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रालिबाट चाबी फोडी वैशाख २८ गते राती कार्यालयमा रहेको बिभिन्न धनमाल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा श्रेष्ठ र माझीलाई पक्राउ गरी चोरी, डाँका तथा लागूऔषध मुद्धामा आवश्यक अनुसन्धानको क्रममा उनीहरु हिरासतमा थिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस