
भैरहवा । अविरल वर्षापछि रुपन्देही र परासीका खोलानालाको पानी सतहमाथि आएपछि गाउँसहर प्रवेश गर्दा उद्योग, बजार–व्यवसाय र सर्वसाधारणको अर्बौं रुपैयाँको नोक्सान भएको छ । विशेष गरी उद्योगका तयारी एवं कच्चा पदार्थ, विद्युतीय उपकरण, तयारी खाद्यवस्तु, खाद्यका कच्चा वस्तु, प्याकेजिङका सामान, कपडा लगायतमा क्षति पुगेको छ ।
बाढीले भैरहवा–बुटवल सडक खण्डका पूर्वतर्फका उद्योगहरु र भैरहवा–धकधई–परासी औद्योगिक करिडोरका उद्योगमा ठूलो क्षति पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ । बाढीले क्षति पुगेका उद्योगहरु अझै पनि सञ्चालनमा आउन नसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । “हामी निरीक्षणमा गयौं र नोक्सानीको विवरण संकलन गरेका थियौं । ठूलो क्षति पुगेको छ उद्योगहरुमा,” आचार्यले भने ।
नेपालकै पुरानो पञ्चकन्या इन्डस्ट्रिजमा कच्चा सामग्री, विद्युतीय उपकरणहरु गरी कम्तिमा पनि १२ करोड रुपैयाँको क्षति पुगेको उद्योगका नायब महाप्रबन्धक देवेन्द्र शाहुले बताए । “एक हप्तादेखि उद्योग बन्द छ । प्लास्टिक सेक्सनतर्फका कच्चा सामग्रीहरु धेरै बगाएको छ भने । भएका पनि काम नलाग्ने अवस्थामा छन्,” शाहुले भने । वर्षापछि उद्योग बन्द हुँदा उत्पादन तथा बिक्री ठप्पसहित अन्य सबै गर्दा २० करोडभन्दा बढीको नोक्सान भएको उन्ले दाबी गरे ।
रोहिणी गाउँपालिकाको सेमरहवामा रहेको नेपालकै ठूलोमध्येको श्री स्टिल उद्योगमा कच्चा सामान, तयारी वस्तु, विद्युतीय उपकरण लगायतका सामानमा गरी १० करोडभन्दा बढीको क्षति भएको बताइएको छ । ८ दिनदेखि उद्योग बन्द हुँदा उत्पादन र बिक्री ठप्प छ ।
मेसिनरी सामानमा क्षति पुग्दा धेरै गाह्रो परेको छ । उद्योग बन्द हुनेबित्तिकै उद्योगसँग जोडिएका अरु सर्कल पनि तोडिने हँुदा ठूलो नोक्सान व्यहोर्नुपरेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।
प्रतिक्रिया दिनुहोस