aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

बेलायतमा नेपाल रेड जोनमा परेपछि यसरी नेपालीले सास्ती पाए

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शनिबार, १९ भदौ २०७८
बेलायतमा नेपाल रेड जोनमा परेपछि यसरी नेपालीले सास्ती पाए

लन्डन । कोभेन्ट्री युनिभर्सिटीमा इङ्लिस ल्याङ्वेज टिचिङ एन्ड अप्लाइड लिङ्गुइस्टिकुमा मास्टर्स गर्न पूर्ण शुल्क १६ हजार ६०० पाउन्ड जुटाउन कम सजिलो थिएन ज्ञानेन्द्र थपलियालाई । ऋणधन गरेर युनी फि जुटाए, भिजा पनि लाग्यो । जब बेलायत टेके, थप २२८५ पाउन्ड (करिब चार लाख रुपैयाँ) होटल क्वारेन्टिनबापत तिर्नु पर्‍यो । सरकारी नियम पालना नगरी सुखै थिएन । 

सेप्टेम्बर इन्टेकमा आउनै पर्ने बाध्यता भएपछि १६ दिनको पहिलो सन्तान छोडेर आए उनी ११ रात बिताएर ३० अगस्टमा होटल क्वारेनटिनबाट निस्किएका ज्ञानेन्द्र भन्छन्,'नेपालजस्तो गरिब मुलुकबाट आएका हामीलाई त्यो शुल्क थाम्नै नसकिने हो । नेपाल सरकारले अलिकति लबिइङ गर्ने हो भने केही परिवर्तन हुन सक्थ्यो तर हाम्रो सरकार कमजोर छ ।' लन्डन हिथ्रो नजिक चार तारे होटेलमा अरु सुविधा राम्रै भए पनि खाना नमिलेको उनी बताउँछन् । 

कोभिड महामारीको दोस्रो लहरमा आफ्नो बाबु गुमाउनुको पीडा छँदै थियो, नेपाल पुगेर बेलायत आउँदासम्म बेहोर्नु परेको थप मानसिक तथा आर्थिक क्षति वर्णन गर्न सक्दैनन् अर्जुन बोहोरा । बाबु बितेको खबर पाउनासाथ टर्कीस् एयरलाइन्सको आवतजावत टिकट ११ सय पाउन्ड तिरेर तुरुन्त नेपाल उडे उनी । बाबुको अन्त्येष्टि सकेर ५ हप्तापछि लन्डन फर्कन लाग्दा एयरलाइन्सले उडान रद्द भएको जनाउ दियो । यता काममा तत्काल आउनुपर्ने भएकाले अर्को दिनसम्म कुरिराख्न सम्भव थिएन । काठमाडौंमा एजेन्टलाई दुई लाख रुपैयाँ तिरेर उनी कतार एयरवेजमा लन्डन उत्रिए ।

प्रतिक्रिया दिनुहोस