
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले मलेनियम च्यालेन्ज एकाउण्ट(एमसीसी)मा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउनेपनि विश्वास बताए । उनले भने,‘एमसीसी अनुदानमा आएको कार्यक्रम हो । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । सैन्य प्रयोजनमा यो पैसा प्रयोग गर्न पाईँदैन् । कतिपय विषय यो छ कि उ छ कि भनेर कुरा उठेको छ । यसको बारेमा पनि स्पष्ट पार्न सरकारले पहल गरिरहेको छ । एमसीसीबारे अस्पष्ट भएका कुरा, पब्लिकमा भएका अस्पष्ट र जिज्ञासा, आशंका छ, प्रचार धेरै कुरा भएका छन् । त्यो विषयमा अमेरिकी सरकारले क्लारिफाई गर्ला । आशंका निराकरण हुनेछ । यो प्रक्रिया अघि बढ्छ ।’
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् । उनले भने,‘अब मन्त्रिपरिषद् चाँडो विस्तार हुनुपर्छ । सरकार गठन भएको लामो समय भैसकेको छ । विभिन्न घटक र पार्टी जोडेर सरकार बनाउनुपरेको छ । घटक दलले समयमा नामावाली नदिँदा, खासगरी माधवजीलाई पार्टी बनाउन लामो समय लाग्यो । जसपाबाट पनि नाम आउन ढिला भयो । तर, अब लम्ब्याउनुहुँदैन् । कांग्रेसमा मन्त्री बनाउने बारेमा कुनै समस्या छैन् । हामी त मन्त्री बन्ने साथीहरुको नाम टुँगो लगाएका छौं ।’
प्रतिक्रिया दिनुहोस