aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

चालक अनुमतिपत्रको लिखित परीक्षा शुरु

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, २१ भदौ २०७८
चालक अनुमतिपत्रको लिखित परीक्षा शुरु

काठमाडौं । कोभिड–१९का कारण चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आइतबारबाट सुरु भएको छ । उपत्यकाका यातायात व्यवस्था कार्यालयहरुले रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा आइतबारबाट सुरु गरेका हुन् ।

कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७८ अनुसार यातायात कार्यालयहरुले परीक्षा सञ्चालन गरेका हुन् ।

सरकारले तोकेको मापदण्ड पालना गरी आइतबारबाट लाइसेन्सको लिखित परीक्षा सञ्चालन भएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति चावहिलका कार्यालय प्रमुख विष्णु भट्टराईले बताए । उनले भने, “आइतबार ३ सय ५८ मध्ये २ सय ४४ परीक्षार्थीले लिखित परीक्षामा सहभागी भएका छन् । सोमबार र मंगलबार प्रयोगात्मक परीक्षा सञ्चालन हुनेछ ।”

यातायात व्यवस्था विभागले मातहतका कार्यालयमा परिपत्र जारी गरी तोकिएको स्वास्थ्यका मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको विभागमा निर्देशक डा।लोकनाथ भुषालले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था अन्तर्गतको हेटौंडा यातायात कार्यालले वैशाख १४ देखि रोकिएको ट्रयालको परीक्षा भने भदौ २७ बाट क्रमशः हुने आइतबार सूचना जारी गरेर जनाएको छ । विभाग अन्तर्गत १९ वटा यातायात सेवा कार्यालयहरुबाट सेवा प्रवाह गर्दै आएका छन् ।

विभागले कोभिड–१९ महामारी बीचमा जनस्वास्थ्यको मापदण्ड अपनाएर ट्रायल परीक्षा सञ्चालन गर्ने मापदण्ड नै बनाएको छ । अनलाइन आवेदन भने दशैं पछि खोल्ने विभागले जनाएको छ । करिब ४ लाख परीक्षार्थीले अनलाइन आवेदन दिएर परिक्षाको प्रतिक्षा सूचीमा बसेको विभागले जनाएको छ ।

विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ पनि लागु गर्ने जनाएको भए पनि पहिलेकै (पुरानो) परीक्षा प्रणालीमा रहेर परिक्षार्थीले आवेदन दिएकाले गर्दा त्यस्ता आवेदन लिएका परिक्षार्थीलाई परीक्षामा सहभागी गराइसकेपछि मात्र नयाँ मापदण्ड अनुसार परीक्षा हुने कार्यालय प्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस