
काठमाडौं । भारतीय सुरक्षा फौजले दार्चुलामा नेपाली खोला तर्न लागेको बेलामा तुइन काटेर खोलामा खसालेको प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ । भारत सरकारलाई ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । दुवै घटनाका सम्बन्धमा कुटनीतिक च्यानलबाट पत्र पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । यी दुवै घटनामा सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस