
काठमाडौं । प्रतिनिधि सभामा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गरेका छन् । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले नाराबाजी गरेको हो ।
नाराबाजीसँगै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुखले सोबारे जवाफ दिएपनि एमाले सांसदहरुले नाराबाजी गरेका हुन् । एमालेले नाराबाजी जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
आजको बैठक शुरु गर्दै सभामुख सापकोटाले राष्ट्रपतिद्धारा संसदको पहिलो बैठकलाई पठाएको पत्र वाचन गरेका थिए । त्यस लगतै एमालेका सांसदहरु विरोधस्वरुप उठपनि सभामुखले स्वागत गरिरहेका थिए । सापकोटाले सांसदहरुलाई जिस्क्याउने शैलिमा ‘अरु केहि गरेको छैन । स्वागत मात्रै गरेको हो । स्वागत गर्न त पाइन्छ होला नि ?’ भनेपछि प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरु अझ बढी आक्रोसित बने ।
त्यसपछि सभामुख सापकोटाले एमालेका संसदिय दलका सचेतक विशाल भट्टराइलाई बोल्ने समय दिएपछि उनले यसअघि हठात संसद अन्त्य गरिएको घटना, दल फुटाउन ल्याइएको अध्यादेश र एमालेको अनुशासन उल्लङघन गर्ने सांसदहरुलाई पार्टीले गरेको कारबाहीलाई सरकारले मान्यता नदिएको विषयमा कडा आपत्ति जनाएका थिए ।
उनले संसद अघि बढ्न नदिने घोषणा गरेपछि सभामुख सापकोटाले निकै कडा स्वरमा संसदको नियमावली पढ्न एमाले सांसदहरुलाई आग्रह गरिरहे । तर, एमालेका सांसदहरुले लगातार नाराबाजी गर्दै रोष्टम घेपछि बैठक स्थागित भएको हो ।
प्रतिक्रिया दिनुहोस