aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कानुन विपरित राष्ट्र बैंकका यी कम्पनीमा लगानी

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, २४ भदौ २०७८
कानुन विपरित राष्ट्र बैंकका यी कम्पनीमा लगानी

काठमाडौं ।  एउटा संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानुनी व्यवस्था भए पनि ७ वटा संस्थामा रहेको सीमाभन्दा बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन । कानुन पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको हो । तीमध्ये धेरै संस्था नाफामूलक छन् । 

यसबारे महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनमा ‘सीमाभन्दा बढी लगानी’ शीर्षक नै बनाएर उक्त विषयलाई प्राथमिकता दिइएको छ । प्रतिवेदनका अनुसार हाल विभिन्न क्षेत्रका ७ वटा संस्थामा राष्ट्र बैंकको लगानी ती संस्थाको कुल पुँजीको १० प्रतिशतभन्दा बढी छ ।

सरकारी लगानी कम गरी निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले अन्य संस्थाहरूमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था राष्ट्र बैंक ऐन २०५८ मा छ । उक्त व्यवस्थाअनुसार तोकिएको सीमाभन्दा बढी रहेको लगानी राष्ट्र बैंकले बिक्री गर्दै जाने बताइएको थियो । तर बेलैमा चासो नदिँदा ऐन जारी भएको दुई दशकसम्म पनि त्यस्ता कम्पनीको सेयर बिक्री हुन सकेको छैन ।

 विभिन्न क्षेत्रका नाफामूलक कम्पनीमा लगानी गर्दा राष्ट्र बैंक आफ्नो उद्देश्यबाट टाढिने सम्भावना रहेकाले ऐनमा कुनै संस्थामा १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । ‘धेरै समयसम्म राष्ट्र बैंकले आफैंले सेयर बिक्री गर्न प्रक्रिया थालेन, पछिल्ला वर्षहरूमा मात्रै बिक्री प्रयास थालेको छ,’ ती अधिकारीले भने, ‘अहिले केही संस्थाको सेयर बिक्री नै भएको छैन ।’

प्रतिक्रिया दिनुहोस