aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा..

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ भदौ २०७८
ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा..

लहान ।  लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ । 

घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी रु ३८ लाख ७० हजार ऋण लिनुभएको थियो । तैयबले हालसम्म साहलाई साँबा ब्याजसहित रु ४५ लाख २० हजार बुझाइसक्नुभएको छ । बाँकी रकम चुक्ता गर्न आफू तयार भए पनि साहले जग्गा फिर्ता गर्न नमानेको उनी बताउछन । “मेरो पूरै परिवार मानसिक तनाबमा छ”, तैयबले भने ।

साहले तैयबको जग्गा फिर्ता गर्न विभिन्न बहाना बनाउँदै आउनुभएको छ । ऋणबापत लिएको रु ३८ लाख ७० हजारको हालसम्म साहले ब्याजसमेत गरेर रु ८१ लाख हिसाब भएको तैयबलाई सुनाउँदै आल्याएका छन । आफ्नो जग्गा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता तैयबलाई परेको छ । 

साहसँग धितोमा जग्गा राखेर २०७६ कात्तिकमा रु १२ लाख ऋण लिएका बोदे बर्साइन नगरपालिका–५ कै मदनलाल साह पनि एक वर्षमै ब्याजसहित रु २५ लाख तिर्नुपरेको पीडा सुनाउनुहुन्छ । घर खर्चका लागि १२ कठ्ठा १७ धुर जग्गा साहको नाममा दृष्टिबन्धक लिखत पास गरी रु १२ लाख ऋण लिएको उहाँले बताए ।

 “ऋण ब्याजसहित फिर्ता गरिसकेको छु, जग्गा फिर्ता गर्नुको साटो उल्टै साहले  मेराविरुद्ध लेनदेनको मुद्दा हाल्नुभएको छ”, मदनलालले भने । ब्याजसहित ऋण चुक्ता गरिसकेकाले जग्गा फिर्ताका लागि गत वर्षदेखि नै साहलाई आग्रह गर्दै आएको उनको भनाइ छ । 

यस्तै रु १२ लाख ऋण लिएका सोही वडाका रामप्रसाद खत्बेको अवस्था पनि साहकै जस्तै छ । घर खर्चका लागि साहसँग लिएको ऋण एक वर्षअघि नै चुक्ता गरे पनि  जग्गा फिर्ता नपाएको उनको गुनासो छ । सप्तरीको शम्भुनाथ नगरपालिका कठौनाका ललिता मण्डल पनि साहकै ऋणका कारण आफ्नो परिवार बिचल्लीमा पर्ने अवस्था आएको बताउछन । 

श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउन १५ कठ्ठा जग्गा साहको नाममा लिखत पास गरी रु चार लाख ऋण लिएपनि हालसम्म ब्याजसहित रु २५ लाख फिर्ता गरिसकेको मण्डलले बताउनुभयो । “साहले जग्गा फिर्ता गर्न मान्नुभएको छैन”, उनले भने, “उल्टै धम्की दिँदै आएका छन।” 

सप्तरीको खड्क नगरपालिका–६ का छेदीलाल पासवानको पीडा पनि कहालीलाग्दो छ । उनले २०७३ सालमा चार कठ्ठा १९ धुर जग्गा साहको नाममा दृष्टिबन्धक पास गरी रु १६ लाख ऋण लिएका थिए । पासवानले ब्याजसहित अहिलेसम्म रु ७६ लाख ६२ हजार तिरिसकेका छन । सप्तरीका ३० जनाभन्दा बढी साहको ऋणको भारी बोक्दै मानसिक तनाब झेल्दै आएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नहाका ध्रुवनारायण साह, बोदे बर्साइन नगरपालिका–९ देउरीका वीरेन्द्र यादव, शम्भुनाथ नगरपालिका–३ का रमाकान्त चौधरी, खड्क नगरपालिका–८ का बच्चालाल साह, सुरुङ नगरपालिका–४ का सबुर चौधरी, रुपनी गाउँपालिकाका अरबिन्द साह, बोदे बर्साइन नगरपालिकाका मोहमद सौदागर, सतदेव पौदार, मोहमद सागर हुसैन, मोहमद असलमलगायतले साहबाट ऋण लिँदा दुःख पाएका छन् । ऋण चुक्ता गर्दा पनि साहले जग्गा फिर्ता नगर्दा घरबारबिहीन भएको पीडितको भनाइ छ । साहले आफूहरुको जग्गा फिर्ता नगरे कानुनी उपचार खोज्ने उनीहरुले बताएका छन् । 

आरोपित साहले भने आफूले उनीहरुसँग रकम तिरेर जग्गा खरिद गरेको बताए । उनले भने, “मैले जग्गा किनेको हुँ, अहिले जग्गाको मूल्य बढेकाले लोभ लागेर उनीहरुले जग्गा फिर्ता मागिरहेका छन् ।”  रासस

प्रतिक्रिया दिनुहोस