aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एमसीसी संशोधन नगर्ने संन्देशसहित उपाध्यक्ष फतिमा सुमार राजनीतिक भेटघाटमा व्यस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
एमसीसी संशोधन नगर्ने संन्देशसहित उपाध्यक्ष फतिमा सुमार राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौं । तीव्र विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम लागू गर्न नेपाल भ्रमणमा आएको एमसीसीका उपाध्यक्ष फतिमा सुमारको टोलीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर आफ्नो औपचारिक भेटघाट शुरु गरेको छ ।

बिहीबार बिहान आफ्नो भ्रमण दलको टोलीसँगै काठमाडौंं आएको समारको टोलीले एमाले अध्यक्ष ओलीलाई उहाँको निवास बालकोटमा नै गएर भेटघाट गरेको थियो । नेकपा एमाले सरकारमा रहँदा उक्त कार्यक्रम लागू गर्नुपर्ने भन्दै लबिङ गरेको भए पनि सत्ताबाट हटेपछि भने उक्त कार्यक्रमका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

भ्रमण टोली नेपाल आउनुभन्दा अघिल्लो दिन नै एमसीसीले नेपालले राखेको संशोधन प्रस्तावलाई अस्वीकार गरेपछि वर्तमान शेरबहादुर देउवाको सरकार अलमलमा परेको छ ।

एमसीसीले आफ्ना वरिष्ठ अधिकारीलाई नेपाल पठाएर उक्त कार्यक्रमका बारेमा ठोस धारणा लिएर मात्र अमेरिका फर्कन निर्देशन दिएकाले नेपाल सरकार भने यस कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्नेमा अलमलमा परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग भेट गरेको एमसीसीकी उपाध्यक्ष सुमारलाई सरकारी धारणा सुनेपछि मात्रै एमालेले निर्णय गर्ने जानकारी गराएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उपाध्यक्ष सुमारले नेपालमा किन एमसीसीको विरोध भएको त्यसबारेमा आफूहरु जान्न चाहेको कुरा ओलीलाई बताएपछि केही व्यक्ति एमसीसी पास गर्न नहुने भनेर लागिपरेको जानकारी गराउँदै आफ्नो सरकारका बेला एमसीसी पास गर्नका लागि अघि बढ्न खोजे पनि तत्कालीन सभामुख कृष्णबहादुर महराको असहयोगका कारण संसद्मा टेबल हुन नसकेको जानकारी उहाँले गराउनुभएको थियो ।

‘संसद्बाट एमसीसी परियोजना पास गराउन सरकारसँग अहिले बहुमत रहेकाले पनि होला हामीसँग छलफल भएको छैन’, ओलीले सुमारलाई भन्नुभयो– ‘सरकारले कस्तो दृष्टिकोण बनाउँछ त्यसपछि मात्रै हामी संस्थागत निर्णय गर्ने छौं ।’

नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएपछि सुमार नेतृत्वको टोलीले विमानस्थलबाटै विरोधको सामाना गर्नुपरेको थियो । विमानस्थलमा जम्मा भएका एमसीसी कार्यक्रमका विरोधीहरुले नाराबाजी गरेका थिए ।

सुरक्षा निकायले कालो झण्डा देखाउने केही व्यक्तिलाई विमानस्थलबाट पक्राउ गरेको थियो । दिउँसो बालकोट गएर फर्कदै गरेको सुमारको टोलीलाई कोटेश्वरमा पनि कालो झण्डा देखाइएको थियो ।

सुरक्षा निकायको बाक्लो उपस्थिति भए पनि एमसीसी कार्यान्वयन नगर्न माग गर्दै आएको टोलीले कालो झण्डा देखाएपछि १५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो । समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस